ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल अलपत्र अवस्थामा



पोखरा

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो तर पुल निर्माण अलपत्र अवस्थामा छ ।

निर्माण सम्पन्न भएर गाडी गरिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ ।  निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक-पटक दबाब दिए तर सुनुवाइ भएन । 

पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताए । उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे ।

‘निर्माण समितिका तर्फबाट पटक-पटक दबाब दियौँ’, उनले भने, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौँ तर पुल निर्माणले गति लिन सकेन ।’ उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए । पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उनले चेतावनी दिए । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए । उनले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताए ।  देवघाट-५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शंका लाग्न थालेको बताए । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उनले बताए । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र ९२०७४ कात्तिक १९० मा पुल बन्नुपथ्र्यो । तर पटक-पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ ।

सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताए । उनले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताए ।सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रहेकामा अहिले बढेर २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja