पोखराको फेवातालमा सरसफाइ अभियान



पोखरा

पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान शुरु गरिएको छ ।

विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान शुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ-संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए । 

लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई  जलकुम्भीले अवरोध  गर्ने गरेको छ । 

सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताए । फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् । 

फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो । 

बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको  पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताए । 

कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja