बागलुङका २ नगरपालिकालाई बालमैत्री बनाउने



पोखरा

बागलुङ जिल्लाका २ नगरपालिकालाई बालमैत्री नगर बनाउने काम सुरु भएको छ । एक वर्षअघिको अभियान जारी राखेको गलकोट र नयाँ जनप्रतिनिधि आएपछि निर्णय गरेको बागलुङ नगरपालिकाले चालु वर्षभित्रै बालमैत्री नगर बनाउन लागेका हुन् । 

बालमैत्री स्थानीय शासन तथा बालमैत्री अभियानलाई पूर्णता दिन चाहिने ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्यका सूचकका लागि विद्यालय र स्वास्थ्य चौकी तहबाट काम थालिएको बागलुङका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । निर्वाचित भएपछि नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पहिलो निर्णय बालमैत्री नगर बनाउने घोषणा गरेका थिए ।

‘नेपालभर एउटै नगरभित्र बागलुङमा धेरै विद्यालय रहेछन्, त्यसैले विद्यालय तहबाटै यो अभियान सफल पार्ने हो,’ श्रेष्ठले भने, ‘सकेसम्म एक वर्षभित्रै अभियानलाई पूर्णता दिनुपर्छ ।’ उनले केही परिवर्तन देखाउने प्रयत्न गरेको बताए ।

बागलुङ नगरभित्र ८८ वटा सामुदायिकसहित १ सय ३ विद्यालय छन् । यो संख्या नेपालकै नगरपालिकामध्ये धेरै हो । गलकोटमा त केही पूर्वाधार र समुदायले पूरा गर्ने सूचक मात्रै बाँकी रहेको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

दुवै नगरले वडा र नगरस्तरीय प्रअ बैठक सम्पन्न गरिसकेका छन् । हरेक विद्यालयमा एकएक बालमैत्री स्रोत शिक्षक नियुक्ति भएका छन् । नगरपालिकाले विद्यालय क्षेत्र सुधारका लागि प्रअसँग कार्यसम्पादन करार सम्झौतासमेत भइसकेको छ ।

विद्यालयका शौचालय, धारा र पुस्तकालय बालबालिकाको पहुँच पुग्ने गरी बनेको प्रअले बताए । बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने, विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिबिना शिक्षक बाहिर नजाने पद्धति सुरु भइसकेको हो ।

यहाँको गलकोट माविमा त महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र चाहिएजति सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार बनाएर उपयोगमा समेत ल्याएको अध्यक्ष वीरजंग भण्डारीले बताए ।

विद्यालय तहमा केही नियम पनि लगाइएको छ । लगातार ३ वर्षसम्म १५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएमा विषय शिक्षकलाई स्पष्टीकरण सोध्ने नीतिगत व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ विद्यालयमा जंकफुट निषेध छ ।

विद्यालयमा राजनीतिक गतिविधि पूर्ण निषेध छ । विद्यालय शान्तिक्षेत्र अभियानलाई पूर्णता दिने प्रअले निर्णय गरेका छन् । विद्यालयमा जोखिमका काम र प्रयोग नगर्ने, बालबालिका रमाएर पढ्न पाउने व्यवस्था गर्नेजस्ता सूचक पनि पूरा गर्न शिक्षक, अभिभावक तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja