नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट



पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो । पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

तनहुँमा महिला बास्केटबल खेलाउने तयारी छ । महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित तीन सय जना दमौली आउनेछन् । खेल सञ्चालनका लागि खेलकुदका सामग्री पनि अभाव रहेको कराँते महासङ्घ तनहुँका अध्यक्ष मनिराज थापामगरले बताए । कराँतेका लागि खेलाडी छनोट गर्न जिल्लामा म्याट नरहेकाले लमजुङबाट मगाइएको उनले बताए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेबलटेनिस, बुद्धिचाल, कराँते, आइटिएम तेक्वान्दो, फुल कन्ट्याक्ट कराँतेबाट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिएको छ ।

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

दुई सय २१ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट दुई सय २१ खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

फुटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ नौ पुरुष र नौ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ नौ, टेबलटेनिसतर्फ पाँच, ब्याडमिन्टनतर्फ सात पुरुष र पाँच महिला गरी १२, एथलेटिक्सतर्फ नौ पुरुष र नौ महिला गरी १८ रहेका छन् ।

बुद्धिचालतर्फ तीन, कराँतेतर्फ २९, कबड्डीतर्फ दश पुरुष र दश महिला गरी २०, आइटिएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ छ पुरुष र छ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ सात पुरुष र पाँच महिला गरी १२, उसुतर्फ छ पुरुष र छ महिलागरी १२ र बक्सिङतर्फ चार खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja