पोखरामा उन्नाइस हजार बढी भूमिहीनद्वारा जमिन प्राप्तिका लागि आवेदन



पोखरा

पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् ।

यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा-२५ बाट सुरुआत गरिएको हो । सो वडामा दुई सय ४२ दलित र सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । 

भूमिहीनहरूको समस्या समाधानका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगका अनुसार पोखरा महानगरपालिकामा भूमिहीनको लगत संकलनको काम सकिएर  निस्सा वितरण सुरु गरेको आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पोखरेलले बताए ।

उनका अनुसार जिल्लाका अन्य पालिकामा भने राष्ट्रिय भूमि आयोगसँग सम्झौतापछि लगत संकलनका लागि आवेदन दर्ताको काम भइरहेको छ । भूमि आयोगका अनुसार महानगरपालिकामा भूमिहीन दलित तीन हजार पाँच सय ५३, भूमिहीन सुकुम्बासी चार हजार एक सय ८३ र अव्यवस्थित बसोबासी ११ हजार आठ सय ९८ परिवारको निवेदन दर्ता भएको छ । 

महानगरले भूमि आयोग केन्द्रसँग समझदारीमा हस्ताक्षरपछि ३५ दिने सूचना निकालेको थियो । पछिल्लो सूचनाअनुसार तीन हजार भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन भएको थियो । आयोगका अध्यक्ष पोखरेलले भूमि आयोगसँग सम्झौतापछि अहिले माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकामा भूमिहीनको लगत संकलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । 

उनले भने, ‘आयोगको जिल्ला कार्यालयले पछि सम्झौता भएका पालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन गरिरहेको छ, यसअघिका पुराना अधुरोअन्तर्गतका लागि सरजिमन मुचुल्का, फिल्डबुक र सेता पुर्जाको आधारमा जग्गाधनी पुर्जा दिने तयारी भइरहको छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja