मुस्ताङमा यसवर्ष बढ्यो स्याउ उत्पादन



पोखरा

मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल स्याउको उत्पादन यसवर्ष बढेको छ ।

गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए ।

“यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उनले भने,  “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।” 

रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् । 

नपाक्दै काँचो स्याउ बजारमा पुर्याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाएका हुन् । थासाङ गाउँपालिका-२ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको सङ्क्रमण नदेखिएको र फल राम्रो लागेको बताए ।

थासाङ-१ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताए । तुलाचनले कृषि ज्ञान केन्द्रको रु पाँच लाख र व्यक्तिगत १५ लाखमा विसं २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गरेका थिए ।

“बगैंचा नै ठेक्कामा लिएका व्यापारीले पाकेको स्याउ टिपेर बजारमा लैजाने तयारी गरेका छन्,” उनले भने, “व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या छैन ।” म्याग्दी, पोखरा, धादिङ, काठमाडौँ, चितवनका ब्यापारी बगैँचानै ठेक्कामा लिएर स्याउ खरिद गर्न मुस्ताङ पुगेका छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् ।

स्याउ जोन मुस्ताङले १८ हजार ५०० गोटा उच्च प्रविधिको स्याउको बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja