तनहुँ चाम्बासस्थित विषय शिक्षक नपाउँदा समस्या



पोखरा

तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा समस्या भएको छ ।

विषयगत शिक्षक आवश्यकताको विज्ञापन पटकपटक प्रकाशित गरे पनि कसैको दरखास्त नपर्दा प्राथमिक तहको शिक्षकबाट माध्यमिक तहका विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता भएको प्रधानाध्यापक अशोक खत्रीले बताए ।

विद्यालयले दुई पटक अंग्रेजी शिक्षक आवश्यकताको विज्ञापन प्रकाशित गरिसकेको छ । गत असार २८ गते पहिलो पटक विज्ञापन प्रकाशन गरेको थियो ।

ऋषिङ गाउँपालिका–३ दुबुङ्गस्थित शान्ति माध्यमिक विद्यालयले पनि अंग्रेजी विषय शिक्षकका लागि गत फागुन २९ गते पहिलो पटक विज्ञापन प्रकाशित गरेको थियो । तर, शिक्षण अनुमतिपत्र प्राप्त शिक्षकको दरखास्त नै नपरेको प्रअ हर्कबहादुर थापा बताउँछन् ।

सहर/बजारको जस्तो सेवा सुविधा नहुने, इन्टरनेट र राम्रो खाने, बस्ने व्यवस्था नहुने भन्दै ग्रामीण क्षेत्रका विद्यालयमा शिक्षक आउन नखोज्ने ऋषिङ–८ स्थित शिव सरस्वती माविका प्रअ विष्णुप्रसाद खनालले बताए ।

‘पहिलो कुरा गणित, विज्ञान र अंग्रेजी विषयका जनशक्ति उत्पादन नै कम छ, दोश्रो कुरा उत्पादित जनशक्ति पनि नेपालमा केही छैन भन्दै विदेशिने र अन्य प्रोजेक्टमा जाने परम्परा रहेको छ । ग्रामीण भेगमा अन्य अवसर छैन शुद्ध त्यही विषयमात्र पढाएर धेरै कमाइ हुँदैन भन्ने सोच छ’, उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले शिक्षकको सेवा सुविधा बढाउने, दुर्गम भत्ताको व्यवस्था, प्रोत्साहान र पुरस्कारको व्यवस्था गरिदिए प्रभावकारी हुने थियो । यसो गर्न सके ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षकको अभाव लामो समयसम्म हुने थिएन ।’

सरकारले उपलब्ध गराउने दरबन्दीअनुसार शिक्षक उपलब्ध नभएपछि अनुदान कोटाबाट शिक्षक व्यवस्थापनका लागि विद्यालयलाई अनुमति दिइएको भानुका शिक्षा शाखाप्रमुख ध्रुव पौडेलले बताए ।

जिल्लामा ४३१ वटा सामुदायिक र १२५ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सरकारले उपलब्ध गराएको दरबन्दीअनुसार शिक्षकको दरबन्दी पदपुर्ती नहुँदा करार, राहत तथा अनुदानमा शिक्षक राख्नुपरेको सामुदायिक विद्यालयहरू बताउँछन् ।

साथै, विषयगत शिक्षक नपाउँदा तल्लो तहका तथा अन्य विषयका शिक्षकलाई नै गणित, विज्ञान र अंग्रेजी विषय पनि पढाउन लगाउनुपर्ने बाँध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja