म्याग्दीको बेनीमा छायो ‘बर्खेनाच’ को रौनक



पोखरा

म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।

नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । 

नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन शुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच  प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।

यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न  वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई  पनि उजागर गर्ने गर्दछन् ।

बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन ।

यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियो ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् ।

यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका ः खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja