बाह्य पर्यटक लागी मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल



पोखरा

बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ ।

प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् ।

सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् । साहसिक खेल मन पराउने पर्यटकका लागि मनाङलाई मुख्य गन्तव्यस्थलकैरुपमा लिने गरिन्छ । अघिल्ला दुई वर्ष भने कोभिडको सङक्रमणले पर्यटक आगमन ठप्प भयो ।

गत आर्थिक वर्षमा भने कोभिडको सङ्क्रमण केही मथ्थर हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटकको सङ्ख्या बढेको छ । आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्क देखिन्छ । यस अवधिमा नेपालमा भित्रिने कूल दुई लाख ८५ हजार तीनसय ६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्रै सात हजार २० पर्यटक भित्रिए ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्नेगरी अन्नपूर्ण पदमार्गमा केही पर्यटक पदयात्राका लागि आउने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।

हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा रु चार लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व सङ्कलन भएको हो ।

-रासस 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja