म्यानमारमा पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड



पोखरा

 म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ ।

पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको हो। को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन्।

५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए। उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक–पटक जेल परेका थिए। उनलाई गत वर्ष अक्टोबरमा यांगुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो।

यसैगरी ४१ वर्षीय फ्यो जेया थअ प्रजातन्त्रवादी नेतृ आङ सान सूची निकट मानिन्छन्। उनी सूची नेतृत्वको नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीका सांसद थिए । उनले सैन्य शासकविरुद्ध कडा अभिव्यक्ति दिंदै आएका थिए ।

उनलाई सैनिक सरकारले गत नोभेम्बरमा पक्राउ गरेको थियो । मृत्युदण्ड दिइएका अन्य दुई जनाकारे बारेमा भने खुलेको छैन । यद्यपि उनीहरुविरुद्ध सेनालाई सूचना पुर्याएको आरोपमा एक महिलालाई हत्या गरेको अभियोग थियो। म्यानमारमा यो दशकौंपछि मृत्युदण्ड दिइएको हो।

चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको जनाइएक छ। यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ। गत जुन महिनामै सेनाले उनीहरुलाई मृत्युदण्ड दिने निर्णय गरेको सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका थिए।

उनीहरुलाई एक बन्द इजलासमा मृत्युदण्डको फैसला सुनाइएको थियो। मृत्युदण्ड दिइएको समाचार सार्वजनिक भएपछि पनि म्यानमारको सैनिक सरकारको आलोचना भएको छ। सूची नेतृत्वको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै म्यानमारको सेनाले २०२१ को फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो। सैन्य कूको विरोधमा भएका प्रदर्शनहरुमा पनि सेनाले दमन गरेको थियो।

प्रजातन्त्रवादी नेतृ सूची हालसम्म पनि सैनिक सरकारको नजरबन्दमै छिन् । उनीमाथि भ्रष्टाचार गरेको लगायतका आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja