नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले किसान लाभान्वित



पोखरा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् ।

नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यबिन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको थियो । 

उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेती ५१२ हेक्टर जमिनमा गरिने गरिएकामा हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन  स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आवद्ध छन्  भने दुई हजार ३५५ घरधुरी संलग्न छन् । नवलपुर कृषिमा अब्बल मानिन्छ ।

यहाँ व्यावसायिकरूपले  तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुनु अघि नै  धेरै किसान तरकारी खेतीमा लागेकामा परियोजना लागू भएपछि किसान थप  हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने किसानलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट १ जुकेपानीको लेकबेँसी किसान समूहका किसान शङ्कर थापाले उक्त परियोजना लागू भएपछि मलचिङ, स्प्रे टङ्की, जोख्ने काँटालगायत सामग्री पाउँदा किसान निकै उत्साहित भएको बताए ।

हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्राखेती गर्छन् । जुकेपानीबाट मात्रै एकै याममा रु  १० करोड बराबरको  काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक गोलभेडा, आलु, बोडी, रामतोरिया, करेलालगायत खेती गर्ने गरिएको छ । 

यस्तै कावासोती १७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको र अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनको भनाइ थियो ।

उक्त परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकता दिइएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja