असार १५ सम्म पर्वतमा ३० प्रतिशत मात्र रोपाइँ



पोखरा

समयमै मनसुन सक्रिय नहुँदा पर्वतका अधिकांश क्षेत्रमा अझै रोपाइँ हुन सकेको छैन ।

धान दिवसका दिनसम्म पर्वतमा ३० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय २५ हेक्टरमा धान खेती गरिएको हुन्छ ।

जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ । पर्वतको माटोमा २.८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । जुन राष्ट्रिय तथा गण्डकी प्रदेशको उत्पादकत्वको तुलनामा न्यून रहेको प्राविधिक बताउँछन् । धानबाली क्षेत्रफल र उत्पादनका हिसाबले पर्वत जिल्लामा मकैपछिको दोस्रो प्रमुख खाद्यान्नबाली हो ।

बुधबारसम्म करिब २१ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको केन्द्र प्रमुख मनिता थापाले बताइन् । उनका अनुसार अधिकांश क्षेत्रका किसानले रासायनिक मल नभएका कारण समयमै रोपाइँ गर्न सकेका छैनन् । कतिपय किसानले पानी अभावले रोपाइँ गर्न सकेका छैनन् ।

जिल्लाका केही स्थानमा सोमबार रातिदेखि मात्रै मनसुन सक्रिय भएर नियमित वर्षा भइरहेको छ । आकासेपानी र मूलको भरमा धान रोप्ने किसानले वर्षा प्रशस्त नभएका कारण मूलको पानी नभएर रोपाइँ गर्न नसकेको बताएका छन् ।

पर्वत जिल्लामा उत्पादन भएको २० हजार ५ सय २० मेट्रिक टन धानबाट करिब १३ हजार ७ सय ४७ मेट्रिक टन चामल प्राप्त हुन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनको जनसंख्यालाई आधार मानी प्रक्षेपण गर्दा हाल पर्वत जिल्लाको जनसंख्या करिब १ लाख ३२ हजार ७ सय ३ छ ।

यो जनसंख्यालाई प्रतिव्यक्ति प्रतिवर्ष खाद्यान्न आवश्यकता २ सय १ किलोका दरले हिसाब गरेर चामलमा मात्र निर्भर रहँदा २६ हजार ६ सय ७३ मेट्रिक टन आवश्यकता पर्दछ । यसरी उत्पादन र आवश्यकतालाई तुलना गर्दा १२ हजार ९ सय २६ मे टन चामल अपुग देखिएको केन्द्रका बागबानी विकास अधिकृत विश्वास काफ्लेले बताए । तर, मकै, गहुँ, कोदोलगायतको समेत उपभोग गर्ने हो भने पर्वत जिल्लामा खाद्यान्न बचत रहेको केन्द्रको तथ्यांकले देखाउँछ ।

पछिल्ला केही वर्षयता पर्वतका सबैजसो गाउँमा मिनी टिलर तथा ट्र्याक्टरले जोतेर खेती गर्ने चलन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja