पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा विजयी



पोखरा

 पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भएको आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मल्ले २ घण्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा निर्धारित ४५ किलोमिटर दुरी पार गरे ।

महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भए । मगरले ३ घण्टा ३३ मिनेट ७ सेकेण्ड र तामाङले ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा ४५ किलोमिटर पुरा गरेका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी थिए। पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja