एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा



पोखरा

प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।

मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।

‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन,’ पाण्डेले बैठकमा भने ।

यसबारे सोमबारको बैठकमा समेत एमालेले प्रश्न उठाए पनि जवाफ नआएको भन्दै पाण्डेले अब जवाफ नआएसम्म सदन कामकारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । सोही क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि अर्थमन्त्री शर्माको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्दै मन्त्रालयगत विषयमा भएको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट हटाउन माग गरे ।

अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट नहटाएसम्म बैठक चल्न नसक्ने भट्टराईले बताइरहँदा एमालेका सांसद उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सुनुवाइ हुने आश्वासन दिएपछि अहिले प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja