पोखरा लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने



पोखरा

पोखराको लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने भएको छ । होटल संघ पोखराले आयोजना गरेको सडक महोत्सव अवधिभर लेकसाइडमा सवारी साधन चलाउन नपाइने भएको हो । 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पूर्वमा शहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ । उनका अनुसार भित्री बाटोबाट स्थानीय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइनेछ । महोत्सवका लागि आएका सवारी-साधनलाई डिहिकोपाटन, क्याम्पिङचोक र बसुन्धरा पार्कमा पार्किङ क्षेत्र छुट्याइएको छ ।

महोत्सव भोलिदेखि 

पोखराको लेकसाइडमा बुधबारदेखि सडक महोत्सव पोखरामा शुरु हुँदैछ । फेवा नव वर्ष महोत्सवलाई यसपटक परिमार्जन गरि ‘सडक महोत्सव’ बनाइएको हो । महोत्सवको सबै तयारी पूरा भएको होटल संघ पोखराले जनाएको छ । 

महोत्सव पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुका प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने आयोजकले जनाइएको छ । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिनेछन् ।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन् । यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ । 

महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिने बताएको छ । संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरुबाट छुट दिने ब्यवस्था मिलाइएको बताए ।

उनका अनुसार महोत्सवको अवसरमा स्थानीय अन्नपूर्ण केवलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ । संघले महोत्सव अवधिभरका लागि रात्रीकालीन बस तथा ट्याक्सी सेवा दिने प्रवन्ध मिलाएको जनाएको छ । जसअनुसार रातिसम्मै बस र ट्याक्सीले सेवा दिनेछन् ।

होटल संघले यसवर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ । कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरुले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja