कास्कीमा विद्यालयमा पुगेर बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने



पोखरा

टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ ।

शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् ।

यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुरा/रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने स्वास्थ्य कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए ।

उनका अनुसार कास्कीका १२५ जना विद्यार्थी भएका हरेक विद्यालयमा पुगेर बालबालिकालाई खोप दिइनेछ । विद्यालय नभएका वडामा वडा कार्यालयमै खोप अभियान सञ्चालन हुनेछ । 

“अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन्छ, त्यसपछि नियमित खोपअन्तर्गत १५ महिनाका प्रत्येक बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउन पाउँछन्,” उनले भने,  “बालबालिकामा अरूमा भन्दा टाइफाइड हुने दर ११ गुणाले बढी हुने भएकाले सोही उमेर समूलाई लक्ष्य गरी सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।”

नेपालमा टाइफाइडको सङ्क्रमण दर उच्च छ । प्रतिएक लाख जनसंख्यामा १०० लाई टाइफाइड भएमा सङ्क्रमणको उच्च अवस्था मान्ने गरिएको र एक अध्ययनअनुसार नेपालमा प्रतिलाखमा एक हजार ६२ जनामा सङ्क्रमण पाइएको उनको भनाइ थियो । 

आचार्यका अनुसार कास्कीमा १५ वर्ष मुनिका करिब एक लाख ४१ हजार ७७६ जना बालबालिकालाई खोप लगाउन एक हजार १५ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । 

दूषित पानी र खानेकुराबाट धेरै लाग्ने रोगमध्ये टाइफाइड दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ । ज्यानैसमेत जोखिममा पार्न सक्ने यसको सङ्क्रमण न्यूनीकरण र टाइफाइड लागिहाले पनि जटिलता कम गर्न सरकारले टाइफाइड खोपलाई नियमित खोप सेवामा राखेको हो । दुई वर्षअघि राष्ट्रिय खोप सल्लाहकार समितिले टाइफाइडविरुद्धको खोपलाई नियमित खोप सेवामा समावेश गर्न सरकारलाई सिफारिस गरेको थियो । 

विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर प्रमाणित गरेको टाइफाइड खोपको प्रभावकारिता ९७ प्रतिशतसम्म रहेको खोप अभियानका फोकल पर्सन नरबहादुर सारुले बताए । सारुका अनुसार यही चैत २४ गते पोखरास्थित अमरसिंह स्कूलबाट खोप अभियान शुरु हुनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अभियान शुभारम्भ गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja