म्याग्दीको घोडेपानी र पुनहिलमा बढ्यो पर्यटकको चहलपहल



पोखरा

म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ। विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् । पर्यटकको सङ्ख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सङ्कटमा परेका होटेल तथा पर्यटन व्यावसायीमा आशा पलाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै विसं २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनाएको थियो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताए। ‘वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ’, उनले भने, ‘केही दिनयता दैनिक १५ जनाको हाराहारीमा विदेशी र ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन् ।’ पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको उनको भनाइ छ ।

अध्यक्ष गर्बुजाका अनुसार वसन्त ऋतुको समयलाई पर्यटक आउने मौसमको रूपमा लिइन्छ । यो समयमा यहाँको पर्यटकीय क्षेत्रहरूमा भिड लाग्ने गर्छ । व्यवसायीले पनि राम्रो आम्दानी गर्छन् । तर, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै विगत दुई वर्षदेखि होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ । यस वर्षदेखि भने पर्यटकको सङ्ख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसायमा थप सहजता आउने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण थला परेको व्यवसायमा बिस्तारै चहलपहल बढ्न थालेको उनले बताए।

‘पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ’, उनले भने, ‘लामो समय बन्द रहेको होटेल तथा पर्यटन व्यवसायले लय समात्दै छ । फागुन लागेसँगै विदेशी पाहुनाको सङ्ख्या बढेको छ ।’ उनले विदेशीको सङ्ख्या अझै बढ्ने बताए। उनका अनुसार हाल आइरहेका विदेशी पर्यटकको सङ्ख्या र विगतका वर्षमा आउने विदेशीको सङ्ख्या भन्दा निकै कम हो ।’ कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएकाले होटेल व्यवसायीहरू पर्यटकको सङ्ख्या बढ्ने आशामा छन् । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । चैत–वैशाख महिनामा यहाँका वरपरका पाखामा फूलेका लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले आफू पर्यटकको पर्खाइमा रहेको बताए । स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएको उनले बताए। उपसमितिको बैठकले घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पूर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेको छ । ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गिकरण गरेर फरक–फरक दररेट बनाइएको हो ।

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाएका हुन् । यसअघि सबै होटलहरुले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार ५०० शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजारभन्दा बढी बास बस्न सक्छन् । फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दररेट २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja