पर्वतको बाँसखर्कबाट चार करोडको सुन्तला निकासी



पोखरा

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ ।

पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषकआबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपटक प्रतिकिलो १४० का दरले चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।

‘गत वर्षभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो’, उनले भने  ‘भाउ पनि राम्रो पाइयो ।’ उनका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तार हुन लागेकाे हाे । 

एक कृषकले वर्षमा १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । कृषक रुद्रबहादुर खत्रीले यसपटक आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताए । ‘फल र गुणस्तर राम्रो भएकाले विदेशको विकल्पमा यही सुन्तलाखेती गरेको छु’, उनले भने , ‘अनुकूल हावापानी, भूगोल, राम्रो उत्पादन र मूल्यका कारण बाँसखर्कमा सुन्तलाखेती फस्टाएको छ ।’ 

बेनी, कुश्मा, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैँचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका कृषक ख्यामबहादुर खत्रीले बताए । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो । 

बगैँचा ब्यवस्थापन र झरेका दानाको सुरक्षित ब्यवस्थापन गरेकाले यसपटक सुन्तलाको उत्पादन बढेको कृषक शिवबहादुर खत्रीले बताए । ‘हाँगा काटछाट, मलजल गरेकाले यसपाली उत्पादन बढेको हो’, उनले भने , ‘किराले झरेका सुन्तलाको दानालाई प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेकाले यसपाली यो समस्या पनि कम भयो ।’

बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यावसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja