पोखरामा फेरि बर्डफ्लु को संक्रमण फेला



पोखरा

पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याउनु भएकाे थियाे । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।

खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उहाँको कुखुरामा समेत बर्डफ्लु पुष्टी भएको छ । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छी जन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिनुभयाे ।

‘किसानले पालिरहेको कुखुरा मर्‍यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजिटिभ देखिएपछि काठमाडौं पठाएका थियौं, त्यहाँ पुष्टि नै भयो,’ उहाँले भन्नुभयाे, ‘१५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ । हामी खोजी गरिरहेका छौं,’ न्यौपाने भन्नुहुन्छ, ‘व्यवसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ । रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’

अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सँधै बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja