तनहुँमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तयारी



पोखरा

जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ ।

निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।  निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ ।

ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । ‘मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं’ उनले भने ।

उनका अनुसार विगत एक वर्षको अवधिमा जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो ।

नागरिकता वितरण लगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो । कार्यालयले यही फागुन १९ गतेभित्र १० वटै स्थानीय तहमा मतदाता नामावली पठाउने तयारी गरेको छ । यसपछि दाबी विरोधको कामलाई अगाडि बढाइनेछ ।

विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने काम फागुन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने कार्यालयको तयारी छ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता रहेका थिए । 

मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो ।

निर्वाचन अधिकारी ढकालले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताए । त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja