केरामा खपटे र आलुमा ढडुवा रोग देखिदा म्याग्दीका किसान चिन्तित



पोखरा

म्याग्दी मा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन् । त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् ।

कतिपय ठाउँमा औषधि प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीले बताए । केरा गाउँको रुपमा परिचय बनाएको बेनी – २ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।

स्थानीयवासी चन्द्रबहादुर कार्कीले केराखेतीलाई आफूले मुख्य आम्दानीको स्रोत बनाएको बताए । उनले भने“केराको थम्बा नपसाउँदै सुक्न थाल्यो । ” उहाँले करिब ८ रोपनी खेतमा केराखेती गरेका छन् । बगरफाँटका किसान बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताए ।

त्यहाँको सिङ्गो गाउँका किसान केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए ।

हजारी जातको केराखेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यसवर्ष उत्पादन र आम्दानी घटेको उनले बताए । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कदै आएको किसान थापाले जानकारी दिए । रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका अर्का किसान शोभित शर्माले बताए ।रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja