लमजुङमा ५० वर्षमाथिका १८ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण



पोखरा

जिल्ला अस्पताल लमजुङमा सोमबार १८ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । अस्पतालले सोमवारबाट सुरु गरेको नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानका १८ जनाले परीक्षण सेवा लिएका हुन् ।

अस्पतालले ५० वर्ष माथिका नागरिकका लागि विभिन्न रोग तथा समस्या सम्बन्धी नि:शुल्क परीक्षण सेवा दिएको हो । प्रत्येक महिना दुई दिनसम्म विशेषज्ञ सेवा सहित विभिन्न रोग तथा समस्या भएका नागरिकका लागि नि:शुल्क परीक्षण सेवा दिइने अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

पहिलो दिन सोमबार मुटु सम्बन्धी समस्या भएका तीन जना, हाइपोटेन्सनका दुई जना, मधुमेहका १३ जना बिरामीले परीक्षण सेवा लिएका हुन् । अस्पतालले नसर्ने रोगहरू विशेष गरी क्यान्सर, मुटुरोग, मिर्गौला सम्बन्धी समस्या, दीर्घ श्वासप्रश्वास, मधुमेहलगायत रोगको नि:शुल्क परीक्षण सेवा सुरु गरेको हो ।

प्रत्येक महिनाको दोस्रो र अन्तिम सोमबार बहिरङ्ग विभागबाट नि:शुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने प्रशासन प्रमुख श्रेष्ठले बताए । नि:शुल्क परीक्षण सेवाका लागि अनिवार्य नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले कुनै पनि व्यक्तिमा रोग लाग्नुभन्दा पहिले नै रोगको पहिचान भई उपचारमा समेत सहज हुने भएकोले निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । समयमै रोगको पहिचान गर्न सके उपचारमा सहज हुनुको साथै सम्भावित जोखिमबाट बच्न सकिने चिकित्सकहरूको भनाई छ ।

गण्डकी प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा रहेको छ । ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवा सहित अस्पतालले निकट भविष्यमा विभिन्न समस्याका निम्ति विशेषज्ञसहितको टेलिमेडिसिन सेवा पनि सुरु गर्ने तयारी गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ शय्यामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रूपमा सञ्चालनमा आएको थियो । संघीयता कार्यान्वयनसँगै गत वर्ष मात्रै सो अस्पताल प्रदेश सरकारको मातहतमा गएको हो ।

जिल्ला सदरमुकाम बेसीशहरमा रहेको यस अस्पतालले लमजुङ लगायत वरपरका छिमेकी जिल्लाहरू तनहुँ, गोरखा र मनाङका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यस अस्पतालले आफ्नो सेवालाई समान रूपमा पहुँच विहीन समुदायसम्म पुराउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja