तनहुँ हाईड्रोका प्रवन्ध सञ्चालक परिवर्तनको चर्चा
![](https://fra1.digitaloceanspaces.com/appharuspace/pokharaaaja/uploads/2021/08/tanahu_hydro-768x465.jpg)
पोखरा
हालका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेको साटो किरणकुमार श्रेष्ठलाई लैजाने प्रस्ताव कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेको भए पनि कानूनी अड्चनका कारण रोकिएको खबर ईकागज अनलाईनमा प्रकाशित भएको छ । यस खबरसँगै आयोजनाको सञ्चालक संस्था तनहुँ हाईड्रोका प्रवन्ध सञ्चालक परिवर्तनको विषय सतहमा आएको छ ।
झण्डै चार वर्ष कार्यकाल चलाएका थिकेलाई उर्जामन्त्री पम्फा भुषालले परिवर्तन गराउन खोजेको चर्चा राजनीतिवृत्तमा छ ।
उनको ठाउँमा साञ्जेनबाट राजीनामा दिई प्राधिकरणको इन्जिनियरिङमा आएका किरणकुमार श्रेष्ठलाई लैजाने प्रस्ताव गरिए पनि प्राधिकरणको विनियमअनुसार नमिल्ने देखिएकाले तत्काल सम्भावना टरे पनि मन्त्री भुषाल उनको विकल्प खोज्ने तयारीमा रहेको बुझिन्छ ।
तर यसबीचमा प्रधानमन्त्रीको ठाडो आदेशमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै अब थिकेको थमौती हुन्छ वा उनको विकल्पमा अरु कोही अरु आउला अझै अनुमानमै सीमित छ ।
काम गर्ने पक्षमा चिनिएका घिसिङ आएमा लकडाउनका अवधिमा पनि आयोजनालाई गति दिएका थिकेलाई नै निरन्तरता दिने सम्भावना उच्च रहेको प्राधिकरण श्रोत बताउँछ ।
तर तत्कालीन ओली सरकारका समयमा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानसँग निकट भएको आरोप भने थिकेमाथि छ ।
५० करोड ५० लाख अमेरिकी डलरमा बन्न लागेको आयोजनाका लागि एडीबी, जाईका, युरोपियन इन्भेष्टमेन्ट फण्डसँगै नेपाल सरकार र प्राधिकरण समेतको लगानी छ ।