दमौली माहात्म्यम् पुस्तक विमोचन



पोखरा

दमौली र आसपासका क्षेत्रका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पहिचान गराउने उद्देश्यसहित प्रकाशन गरिएको ‘दमौली माहात्म्यम्’ पुस्तकको आज विमोचन गरिएको छ । लिलामान सिंह बस्न्यात प्रतिष्ठान तनहुँले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश लेखा समितिका सभापति कुमार खड्काले उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको उजागर गर्दै दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित लेखकद्वय देवीबहादुर बस्नेत र विकास खनालद्वारा लिखित उक्त पुस्तकको विमोचन गर्दै प्रदेशसभा सदस्यसमेत रहनुभएका खड्काले व्यासभूमिको प्रचारप्रसारका लागि पुस्तकले सहयोग पुग्ने बताउनुभयो । “पुस्तकलाई दमौलीको विकाससँग जोडेर अगाडि बढ्न सक्नुपर्छ”, खड्काले भन्नुभयो, “दमौलीको इतिहास पहिचान गराउने काममा पुस्तक सहयोगी बन्नेछ ।”

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले पुस्तक दमौलीको इतिहासको दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दमौली वरपरका धार्मिकस्थलको उजागर र संरक्षण गर्ने अभियानमा पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले दमौलीवासीका लागि यो पुस्तकले मार्गदर्शकको रुपमा काम गर्ने बताउनुभयो ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार शेषमणि आचार्यले दमौलीको प्राचीन इतिहासलाई लिपिबद्ध गर्न लेखकद्वयले प्रयास गरेको बताउनुभयो । आचार्यले दमौलीको प्राचीन मान्यताको अध्ययन गर्न पुस्तक सन्दर्भ सामग्रीको रुपमा रहेको टिप्पणी गर्नुभयो । समिक्षक समुन्द्र गोदारले दमौलीको परिचय, महत्व र उचाइलाई पुस्तकमार्फत उजागर गर्न खोजिएको टिप्पणी गर्नुभयो ।

बस्न्यात प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्नेतले व्यासको जन्मभूमि र पराशरको तपोभूमिको संस्कृति, धार्मिक क्षेत्रको तस्वीर पुस्तकमा समावेश रहेको जानकारी दिनुभयो ।

करीब २३६ पृष्ठको पुस्तकमा वेदव्यास जन्मका प्रसङ्ग, कृष्ण द्वैपायन वेदव्यासको जन्मसमय, व्यासेश्वर महादेव र धर्नुधर अर्जुन युद्ध, व्यास प्रयाग र माघ माहात्म्यम्, व्यास नगरपालिकाभित्रका मठमन्दिर, जिल्लाका प्रमुख तीर्थस्थल, व्यास क्षेत्रका विकासका सत्प्रयासलगायत समेटिएको पुस्तकका लेखक देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । दमौली क्षेत्रका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पहिचान गराउन पुस्तकले सहयोगी भूमिका खेल्ने विश्वास लिइएको अर्का लेखक विकास खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja