रु छ लाखको अक्षयकोषसहित सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा



पोखरा

नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले रु छ लाखको अक्षयकोषसहित सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गर्नुभएको छ । आइतबार सांसद केसीले नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी सो पुरस्कारको घोषणा गर्दै अध्यक्ष नवीन सिग्देललाई हस्तान्तरण गर्नुभएको हो ।

अक्षय कोषको ब्याजबाट प्राप्त हुने रकमबाट गण्डकी प्रदेशमा कार्यरत एक जना पत्रकारलाई हरेक वर्ष रु ५१ हजारसहित सम्मान गरिनेछ । आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा सांसद केसी र उहाँकी धर्मपत्नी प्रेमकुमारीले सो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं रहनुहुनेछ ।

केसी परिवारले यसअघि पनि पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानका लागि रु ११ लाख प्रदान गरिसकेको छ । कार्यक्रममा उहाँले आफूलाई दिनमै आनन्द लाग्ने बताउँदै पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद् नगर्न सुझाव दिनुभयो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुगेको उहाँले बताउनुभयो ।

आफूले देशैभरिका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अर्को अक्षयकोष स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । पोखराका पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न आग्रह गर्दै केसीले युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवारी बनाउन भूमिका खेल्ने बताउनुभयो ।

प्रेस युनियनका सल्लाहकार रवीन्द्र बाँस्तोलाले प्रेसमाथिको हस्तक्षेपका विरुद्धमा एकजुट हुनुपर्ने बताउनुभयो । पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएका भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको धारणा राख्दै पुरस्कार वितरणमा यो वा त्यो नभनी सबै पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष सिग्देलले यो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशिको भएको बताउनुभयो ।

कार्यक्रममा महासङ्घ कास्कीका उपाध्यक्ष एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला भण्डारी, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेललगायतले घोषित पुरस्कार, प्रेस स्वतन्त्रता लगायतका विषयमा आ–आफ्ना धारणा राख्न्ुभएको थियो । युनियनका सल्लाहकार गुरुङको थप उपचारार्थ आवश्यक रकम सङ्कलनमा पहल गर्ने कार्यक्रममा जानकारी गराइयो ।

उक्त अवसरमा नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार बाँस्तोला हालै प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको र कालिका बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja