झुक्याएर नागरिकता लिने दुई पक्राउ



पोखरा

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

नागरिकता बनाउनका लागि अनिवार्यरुपमा वडा कार्यालयबाट त्यही वडावासी भएको सिफारिश लिनुपर्ने हुन्छ । आफू नभएका बेलामा कर्मचारीले सिफारिश बनाइदिएको र सही गर्ने बेलामा शङ्का लागेर सोध्दा स्थानीयले समेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिश दिएको बेनिघाट रोराङ– १० का वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताउनुभयो ।

बुद्धि बहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन । धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ ।” पक्राउ परेकाबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले जानकारी दिनुभयो ।

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ– १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउनुभयो । झुक्याएर नागरिकता लिनेलाई पनि कानूनअनुसार कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja