समयमै मैदान स्तरोन्नतिको काम सम्पन्न गर्न निर्देशन
![](https://i2.wp.com/www.pokharaaaja.com/wp-content/uploads/2019/08/1565521479_jagat_bishwokarma_21_LG3km0nFwd_5z0Ge0FdIp.jpg?fit=720%2C482&ssl=1)
पोखरा
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्र्माले कास्कीको हेम्जामा अवस्थित गौरीशङ्कर माध्यमिक विद्यालयको खेल मैदान स्तरोन्नतिका लागि मन्त्रालयबाट यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका–२५ हेम्जामा अवस्थित विष्णुपादुका माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवमा उहाँले समयमै मैदान स्तरोन्नतिको काम सम्पन्न गरेर आगामी साग खेलकूदमा फुटबल खेलको अभ्यास मैदान बनाउने योजना रहेको स्पष्ट पार्नुभयो । गत आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखबाट मैदान स्तरोन्नतिको काम शुरु भएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले अहिले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने होडबाजी चलिरहेको उल्लेख गर्दै विद्यार्थी सङ्ख्या, आवश्यकता र औचित्यताका आधारमा प्राविधिक विषयका कक्षा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै विद्यार्थीलाई विद्यालयमा टिकाउँदै उनीहरुलाई बजारमा बिकाउनेसम्मको जिम्मेवारी विद्यालयको रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्री विश्वकर्माले विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो भने विद्यालयका सहयोगदातालाई सम्मान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।