तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा



पोखरा

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ । “ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छाँै”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो, “यो स्वच्छिक विषय हो ।”

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उहाँले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिनुभयो । “हामीले सबैमा आह्वान गरेका छाँै, गत महीनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो ।

नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उहाँले बताउनुभयो । यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहँुदा समस्यामा पर्नेजस्तो कुरालाई यसले न्यूनीकरण गर्ने धारणा व्यक्त गर्नुभयो । “नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उहाँको छ ।

नगरपालिकाले शुरुआत गरेको कदम सिर्जनात्मक भएको देवचुलीका सामाजिक अगुवा खिमानन्द भुसालले बताउनुभयो । नगरपालिकाको यो कार्य राम्रो भएको भए पनि यसलाई व्यापक छलफल गरी सोहीअनुसार कार्यविधि बनाएर कार्यान्वयमा जाँदा अझै राम्रो हुने उहाँको दाबी छ । विवाहित महिला जागीरे हुँदा आमाबुबा वा सासूससुरा कस्कोमा रकम जम्मा गर्ने स्पष्ट नभएको भुसालले बताउनुभयो । अंशसमेत लिई अलग्गै बसेकाको हकमा के गर्ने, सन्तानको तलबभन्दा धेरै पेन्सन पाउने आमाबुबाको हकमा के गर्ने, तोकेबमोजिम नगर्नेलाई कसरी दायरामा ल्याउनेजस्ता विषयमा स्पष्ट भएर कार्यविधि बनाउँदा कार्यान्वयनमा सहजता हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja