मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता



पोखरा

भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ ।

मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले सा¥है दुःख कष्ट दिन थाले । किसानहरू खेतमा जान नसक्ने भए । व्यापारीहरु सामान खरिद गर्न अन्य शहर जान नसक्ने भए । राज्यमा ठूलो आतङ्क मच्चियो । जताततै हाहाकार मच्चिन थालेपछि तत्कालीन दरबारमा सभा बस्यो र यसको समाधानको उपाय खोज्न थालियो । यसैक्रममा त्यसबेलाका नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्वान गुरुहरुले तान्त्रिक विधिद्वारा मानिसमा विभिन्न देवीदेवताहरु जगाएर रातभर नचाउन शुरु गरी भूतप्रेत, पिशाच, डाकिनीलगायत प्रेतात्माहरु भाग्ने जुक्ति निकाले । सो अनुसार गाईजात्राको भोलिपल्टदेखि चार रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुर थिमि क्षेत्रको बोडेमा नीलवाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैरव र थिमि भैरव नाचको विकास भएको किंवदन्ती रहेको छ ।

थिमिको लाय्कु भैल प्याखँ (दरबारको भैरव नाच)

मध्यपुर थिमिमा यसवर्ष लाय्कु भैलः जाग्ने भएको छ । करीब साढे चार दशक रोकिएर वि. सं. २०७२ सालदेखि पुनः सञ्चालनमा आएको थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपाँ गरी दुई भैरव र न्हापाँ र लिपाँ दाँगी अर्थात कुमारी दुई गरी पाँच देवीदेवताले शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गर्दछन् । यसवर्षको लाय्कू भैलमा १४ वर्षीय सोहन श्रेष्ठ ज्यापुँगः, विनोद श्रेष्ठ न्हापाँ भैल, साजन श्रेष्ठ लिपाँ भैलः, सज्जन श्रेष्ठ न्हापाँ दाँगी र सोनिस श्रेष्ठ लिपाँ दाँगीको रूपमा रहेका छन् ।

भैलः प्याखँमा भैरवले खड्ग र दाँगीले डमरु लिएर नाच्छन् भने ज्यापुँगःले कपासको बियाँ, अक्षता र ताय् (लावा) भएको भाँडा हातमा लिएर नाच्छन् । ज्यापुँगःले भैरव र दाँगी नाच्दा नाच्दै क्रोधित भएर काम्ने बेला कपासको बियाँले हानेर शान्त पार्ने काम गर्दछन् । भैलः प्याखँमा पाँच जना देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापकगरी करिव तीन सय जनाको समूह अहोरात्र खटिनुपर्ने लाय्कू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भैलः प्याखँ प्रदर्शनका क्रममा १२ वटा दागः (काठ र छालाबाट बनेको विशेष बाजा), आठ जोर भूस्याय् बाजा, आठजनाले पोङ्गा बाजा र चार जनाले मुहाली (सनइ) बाजा बजाउनु पर्दछ । “नाच निस्केदेखि विश्राम नभएसम्म रातभर बाजा निरन्तर बजाउनु पर्दछ । त्यसका लागि आलोपालो बाजा बजाउनेहरु तयारी अवस्थामा राख्नु पर्दछ । त्यसैले बाजा बजाउने वाद्यवादकहरु मात्रै एक सय ५० जनाको हाराहारीमा छन”, उहाँले भन्नुभयो, “पाँच जना देवी देवताले ८÷८ जना ज्वकुलु (सहयोगी) नियुक्त गर्दछन् ।” थिमिको लाय्कूमा प्रशिक्षण गरिएको भैलः प्याखँ प्रदर्शनका क्रममा बालकुमारी, दथुटोल, लाय्कू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिवा र भुँलाखेलमा प्रदर्शन गरेपछि लाय्कू दरबारमा पुगेर विसर्जन हुन्छ । यो क्रम निरन्तर चार रातसम्म चल्ने संयोजक श्रेष्ठले बताउनुभयो ।

बोडेको ऐतिहासिक नीलवाराही नाच

ऐतिहासिक नीलवाराही नाच चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ । नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरु नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । यो नाच फरकफरक दिन र समयमा फरकफरक स्थानबाट शुरु गर्ने परम्परा रहेको गुठी नाइके श्रेष्ठले बताउनुभयो ।

नीलवाराही नाचको देवगणमा भैरव एक, वाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ । देवगणका ज्वकुलु (सहयोगी) र बाध्य वाधक गरी सय जनाभन्दा बढी व्यक्तिहरु यो नाचमा क्रियाशील हुने श्रेष्ठले जानकारी दिनुभयो ।

नीलवाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो । यसमा कठिन विधि विधान रहेको श्रेष्ठले बताउनुभयो । “यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीँ कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४÷१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,” उहाँले भन्नुभयो ।

यो नाचमा एकपटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ । “देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उसको मुखुण्डो देव घरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,” श्रेष्ठले भन्नुभयो ।

यो नाच कहिलेदेखि शुरु भएको भन्ने बारे यकिन प्रमाण फेला परेको छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै नीलवाराही नाच शुरु भएको स्थानीय बूढापाकाहरु बताउँछन् । अर्को तथ्यअनुसार सुवर्ण मल्ल राजाको पालामा नेपाल मण्डल र काठमाडौँ उपत्यकामा मुखुण्डो नाचको प्रचलन शुरु भएको र सोही बेलादेखि बोडेमा नीलवाराही नाच शुरु भएको मानिन्छ । यो नाचको बारेमा प्रचलित किंवदन्तीअनुसार नीलवाराही देवी मानिसको रूपमा बोडे शहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलवाराही जङ्गलमा चार दिनसम्म राखेर नाचको सम्पूर्ण विधि विधान सिकाएर पठाएअनुसार यो नाच शुरु भएको जनविश्वास रहेको पाइन्छ ।

नीलवाराही स्वयं मनुष्यको रूप धारण गरी सिकाएको विश्वास रहेको यो नाचको लागि आवश्यक सामान र बाजागाजासमेत देवी स्वयंले नै बनाएर पठाएको विश्वाससमेत रहेको छ । यसको प्रमाणको रूपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों भन्ने व्यक्तिको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पु¥याउन जानुपर्ने प्रचलन रहेको छ । नीलवाराहीले दिएर पठाएका अन्य सामानहरू अहिलेपनि एउटा काठको बाकसमा रहेको विश्वास गरिन्छ । पुरातात्विक महत्वको उक्त बाकस खोलेर हेर्ने भने गरिएको छैन ।

नगदेशको मल्लकालीन महाकाली गँः प्याखँ (महाकाली गण नाच)

मध्यपुर थिमिको नगदेशमा शनिबार रातिदेखि महाकाली जाग्दछिन् । यो वर्ष नगदेशमा अनिश वैद्य महाकाली, सुशान घजू महालक्ष्मी, सञ्जय तको कुमारी, राजु वैद्य सिंह, रोहन श्रेष्ठ, रोजिन सलाजु, सविन वैद्य र मञ्जिल बाडे बेटा, रोहन सलाल र राजु कौरी भूत भैरव, स्वर्णिम अवाल र रिदेश तको कवाँ, निरज बाडे र आशिष कोजू ख्या, क्षितिज बाडे र सुजल मन्तिसिर माक, अनुस बाडे महिषाशुर र बाबुराम दुवाल मयुरको वेशमा नाच्दैछन् ।

महाकाली नाचमा रातो जामा लगाइएकी महाकाली एक, पहेँलो जामा लगाइएकी महालक्ष्मी एक, रातो जामा लगाएकी कुमारी एक, कालोमा विभिन्न रङको कपडा मुठा जोडेका सिंह एक, रातो कछाड लगाएका बेता चार, कालो कपडा लगाएका भूत भैरव दुई, सेतो धोती वा कछाड लगाएका कवं दुई, नालु गासेको खैरो पुटुलं र सुरुवाल लगाएका ख्याक दुई, खैरो कट्टु र सर्ट लगाएका माकः (बाँदर) दुई, मयुरको वेशमा म्ह्यखा एक र कालो कपडाको जामा लगाइएको महिषाशुर दैत्य एक गरी १८ जनाको समूह हुने नगदेश साँस्कृतिक पुचःका सचिव विनोद कोजूले जानकारी दिनुभयो ।

वाद्यवादन समूहसमेत गरी ५० भन्दा बढी कलाकारहरूको सक्रिय सहभागिता रहने यो नाच दैनिक करिब चार घन्टाका दरले नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । त्यस्तै यो नाच बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसिमा पनि प्रदर्शन गरिन्छ । दस ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने गुरु घजूले जानकारी दिनुभयो ।

नाचका गुरु घजूका अनुसार मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा उक्त नाच प्रस्तुत गरिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ । यो नाच नगदेशको विभिन्न भाग र आमन्त्रण भएबमोजिम मध्यपुर थिमिका अन्य भागमा समेत प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja