चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा



पोखरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभएको छ । अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।

यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भन्नुभयो, “अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो, र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ । विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ ।”

चीन र अमेरिकाबीच यसै साता शाङ्घाईमा प्रत्यक्ष व्यापार वार्ता पुनः शुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ । आसियान बैठकमा भाग लिन हाल बैंककमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान होइन भन्नुभयो ।

चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन । तर चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अति आवश्यक सामानको निर्यातमा कडाई गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने सङ्केत दिएको थियो । ट्वीटर मार्फत आफ्नो निर्णय सार्वजनिक गर्नुभएका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोख्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागूपदार्थ) बिक्री रोक्ने बताउनुभएको थियो, तर त्यो कार्यान्वयनमा कहिल्यै आएन । त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीहरुको ज्यान जाँदैछ ।”

अमेरिकी पछिल्लो निर्णयसँगै विश्व बजार तरङ्गित भएको छ । वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियो समेतका प्रमुख शेयर बजारहरुमा कारोबार घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja