सिरिन्ज आक्रमण भनी मिडियामा गलत सन्देश फैलाइयो
पोखरा
( महानगरीय प्रहरी परिषद काठमाण्डौँका प्रहरी उपरीक्षक अशोक सिंहसँग पोखरा आजले लिएको अन्तरवार्ता)
अहिले सिरिन्ज आक्रमणको जनतामा जुन त्रास फैलिएको छ, यसको बारेमा केहि बताइदिनुहोस् न
मिडियामा सिरिन्जको सम्बन्धमा जसरी बाहिर आयो, वास्तवमा त्यो गलत कुरा हो । किनभने सिरिन्ज आतंक भनेर मिडियाले कुरै नबुझेर र प्रहरीसँग जानकारी नै नलिएर सन्देश फैलाए । हामीले त्यो व्यक्तिलाई समातेर कारबाही पनि गरिरहेका छौँ । त्यो सिरिन्ज नभएर ढलान किल्ला हो र उसले बाइकमा गएको बेला घोच्ने गरेको पाइएको छ ।
किन त्यस्तो गरेको उसले?
उसको भनाइअनुसार सुरुमा त्यसो गरेपछि मिडियामा आयो र त्यसपछि त्यो अझै उत्तेजित भएर आक्रमण गरेको देखियो । त्यस्तो गर्ने सहि मानसिकता भएको व्यक्ति भन्ने मलाई लाग्दैन । उसलाई हामीले कानुनको दायरामा ल्याएर कारबाही गरिरहेका छौँ ।
त्यसो भए एच.आइ.भी. संक्रमित सिरिन्ज आक्रमण गरेको होइन?
होइन । त्यो गलत कुरा हो । अहिले जुन हिसाबको सन्देश बाहिर गइरहेको छ, त्यो गलत सन्देश हो । वास्तविक घटना के हो त्यो प्रहरीसँग बुझेर जाँदा राम्रो हुन्छ तथ्य कुरा नबुझिकन मिडियामा गलत सन्देश जाँदा नराम्रो हुन्छ र अहिले भएको त्यहि हो ।
यसबाहेक अपराधिक गतिबिधिहरु काठमाण्डौमा कत्तिको बढिरहेको छ ?
यस अगाडि काठमाण्डौँमा बैँकिङ कसुरहरुको मुद्दा अर्थात बाउन्स चेकका मुद्दाहरु बढिरहेका थिए, अहिले कम हुँदै छ । अहिले ठगिको मुद्दा, साइबर क्राइम, लागु औषध, अभद्र व्यवहार, महिला हिंसासम्बन्धि मुद्दाहरु बढि आएका छन् ।
लेनदेनका व्यवहारमा पैसा खाएर भागेका घटनाहरुमा पिडितहरु प्रायः प्रहरीकहाँ जाँदैनन् । यस्तो अपराधिहरुसम्म कसरी पुग्नुहुन्छ?
लेनदेनको व्यवहार खासमा प्रहरीले हेर्दैन । यो देवानी प्रवृत्तिको मुद्दा हो । यस्ता मुद्दाहरु लिएर अदालतमा जानुपर्छ ।
अपराधिक क्रियाकलापहरुमा महिला/पुरुष वा कुन उमेर समुहका व्यक्तिहरुको बढि संलग्नता रहेको छ?
अहिले पुरुष/महिलाहरु वैदेशिक रोजगारीको लागि जाने गरेका छन् । अहिलेका युवा पुस्तालाई परिणाम छिट्टै चाहिन्छ । उनीहरु परिश्रम, दुःख, मेहेनत गर्न चाहँदैनन् र कमाउनको लागि सर्टकट अपनाएर गलत कामहरु गर्ने गरेका पाइएका छन् । यस्ता क्रियाकलापहरुमा किशोर अवस्थाका देखि ३५ वर्ष तलका युवापुस्ताहरु बढि संलग्न भएको पाइएको छ । ठमेल लगायतका क्षेत्रमा हामीले टिनएजरहरु र अण्डरएजकाहरुलाई प्रवेश निषेध गरेका छौँ र १८ वर्षमुनिकाहरुलाई त्यस्ता ठाउँहरुका रेष्टुरेण्ट, नाइट क्लबहरुमा काम गर्नबाट पूर्ण रोक लगायका छौँ । हामीले नियमबिपरित काम गर्ने त्यहाँका कति नाइट क्लब,रेष्टुरेण्टका सञ्चालकहरुलाई पनि कारबाहि गरेका छौँ ।
लागु औषधको सम्बन्धमा भन्नुपर्दा, भारत र नेपालबिच खुला सिमाना भएकाले बसको रुटमार्फत लागुऔषध भित्रिने गरेको पाइएको छ । भित्रिएका लागुऔषध हामीले धेरै मात्रामा नियन्त्रण पनि गरेका छौँ । जुन हिसाबले म पोखरामा कार्यरत हुँदा लागुऔषध विरुद्धको अभियान चलाएको थिएँ । अहिले नेपाल प्रहरीले अधिराज्यव्यापी ‘समुदाय-प्रहरी साझेदारी’ अभियान चलाएको छ । महिला हिंसा, बालबालिका विरुद्धको अपराध, साइबर अपराध र सडक सुरक्षा सम्बन्धी गरी ४ वटै कुरालाई समेटेर हामी व्यापक रुपमा अगाडि बढेका छौँ ।
अनि लागु औषधको बारेमा कस्तो अभियान चलाउनुभएको छ?
‘ समुदाय-प्रहरी साझेदारी ’ कार्यक्रममा नेपाल प्रहरीले अधिराज्यव्यापी कार्यक्रम ल्याएको छ । जस्तो महानगर, पालिकास्तरमा हामीले समितिहरु गठन गरी हाम्रो अभियान प्रभावकारी रुपमा सञ्चालन गरेका छौँ । हामीले १००० भन्दा बढि स्कुलहरुमा प्रशिक्षण गर्ने काम गरिसकेका छौँ । जनता र प्रहरीबिचको दूरी र असमझदारीलाई हटाई राम्रो सम्बन्ध कायम राख्न र अपराधहरु नियन्त्रण गर्न हामीले स्थानीय तहदेखी पालिका तहसम्म राम्ररी प्रहरीको भूमिका निभाएका छौँ ।
सडक सुरक्षाको बारेमा तपाईँहरुले कस्तो अभियान चलाउनुभएको छ?
धेरै जस्तो दुर्घटनाहरु मापसेको कारणले भएका छन् । हामीले अभियान चलायपछि सडक दुर्घटनाहरु कम भएका छन् । सडकको अवस्था, सवारी साधनको अवस्था, चालकको कामकर्तव्य सम्बन्धि जनचेतना जगाउने र त्यसमा चेकजाँच गर्ने काममा हामीले विशेष ध्यान दिएका छौँ । यसले गर्दा पहिलाको तुलनामा अहिले रोड एक्सिडेन्टको संख्या पनि घटेको छ ।
अधिराज्यभरी हेर्ने हो भने सडक सुरक्षाको स्थिति एकदमै नाजुक छ किनभने हाम्रो देशको सबैभन्दा ठुलो डिजास्टर भनेको सवारी दुर्घटना हो । यसको कारण ड्राइभरको लापरवाहि, रोडको स्थिति, सवारीसाधनको स्थिति, ट्राफिक नियमको उलंघन लगायत विभिन्न कुराहरुले सडक दुर्घटनाहरु भइरहेका छन् । एक वर्षको डाटा निकाल्ने हो भने सडक दुर्घटना यति ठुलो डिजास्टरको रुपमा देखिएको छ कि जसले गर्दा यसलाई न्युनिकरण गर्न नेपाल प्रहरीले यसलाई मूल एजेण्डाको रुपमा अगाडि बढाएको छ ।
उपत्यकाको ट्राफिक जामको बारेमा अलिकति बताइदिनुहोस् न
यहाँ महानगर ट्राफिक महाशाखा छ जसले टोटल ट्राफिक हेर्ने काम गर्छ । यहाँ टोटल ट्राफिक प्रहरीहरु २४ सै घण्टा खटिएका छन् । ट्राफिक जाम हुने धेरै कारणहरु छन् । रोड सानो छ, सवारीसाधन धेरै छन् । ट्राफिक प्रहरी मात्र खटिएर ट्राफिक जामको समस्या हल हुँदैन । यसको लागि टेक्नोलोजीमा आधारित ट्राफिकमा जानुपर्छ । यसको पूर्वाधारहरु तयार गर्नको लागी सरकारले त्यहि हिसाबको स्रोत दिएर त्यहि हिसाबको विकास हुनुपर्छ । विदेशतिर पनि जाम हुन्छ तर त्यहाँ प्रविधिको प्रयोग भएको छ, ट्राफिक लाइटको प्रयोग हुन्छ र नियममा चल्छन् तर हाम्रोमा त्यस्तो प्रविधि छैन ।
महिला तथा बालबालिका सम्बन्धि अपराधहरु नियन्त्रण गर्न तपाईँहरुले केहि विशेष कार्यक्रमहरु ल्याउनुभएको छ?
सामान्यतया हेर्दा महिला हिंसाका घटनाहरु यहाँ मात्र नभई अधिराज्यभरी नै भएका छन् । पिडितले समयमै प्रहरीलाई जानकारी गराएको सम्बन्धमा हामीले त्यसमा कुनै पनि सम्झौता नगरीकन हामीले कारबाही गर्छौँ । घरेलु हिंसा, कुटपिटका कुरामा हामीले कुनै कम्प्रमाइज नगरी कारबाही गर्छौँ ।
नेपालमा गरिबीले हो कि के कारणले अपराधिक घटनाहरु बढिरहेका हुन्?
जब मान्छे कुनै पनि काममा संलग्न हुँदैन, अथवा मान्छे बेरोजगारको शिकार बन्छ तब उ अपराधिक क्रियाकलापमा संलग्न हुन जान्छ । मान्छेलाई कुनै न कुनै काम, व्यवसायमा संलग्न गराएर अपराधिक घटनाहरु निर्मुल पार्न सकिन्छ भन्ने मलाई लाग्छ ।
कुन उमेर समूह र कुन ठाउँका मानिसहरु हाम्रो देशमा अपराधिक क्रियाकलापमा बढि सक्रिय छन्?
काठमाण्डौँको कुरा गर्ने हो भने हरेकको हातमा मोबाइल, घरघरमा इन्टरनेट छ । मानिसहरुले इन्टरनेटको प्रयोगबाट सबै कुरा खोज्नेतिर लागेका छन् । यसबाट उनीहरुले आफ्नो अवस्था र अरुको अवस्था दाँज्न पुग्छन् । अरुको अवस्था राम्रो भएको देख्दा आफु पनि त्यहि अवस्थामा पुग्नका लागी ऊ अपराधिक काममा सामेल हुन पुग्छ । त्यस्तै मोटरसाइकललगायत सवारीसाधन चोरी भएको घटनाहरुमा हामीले अभियान नै चलाएर १०० जनाभन्दा बढि चोरहरुलाई नियन्त्रणमा लियौँ । यसमा २५ देखी ३२ वर्षभित्रका व्यक्तिहरुको बढि संलग्नता रहेको र उनीहरु काठमाण्डौँकै र वरीपरिका जिल्लाहरु जस्तै काभ्रे, धादिङ, नुवाकोटका थिए ।