मुलुकभर नौ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा



पोखरा

केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सोमबार सार्वजनिक गरेको छ ।

नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेको विभागले जनाएको छ ।

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४५७ रहेका छन । त्यसमध्ये पुरुष ६२.३ प्रतिशत र महिला ३७.७ प्रतिशत रहेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले बताउनुभयो । आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो । विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्याङ्क सङ्कलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

देशमा आर्थिक तथ्याङ्कको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य हो । गणनामा उल्लेखित क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब ज्याला खर्च आदिसम्बन्धी विवरण सङ्कलन गरिएका थिए । आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्यका लागि जिल्ला व्यवस्थापन कर्मचारी, सुपरिवेक्षक, गणकसहित करीब चार हजार ५०० गणना कर्मचारी संलग्न रहेका थिए ।

सरकारले आफ्नै स्रोत साधनमा आर्थिक गणना २०७५ का कार्यक्रम सञ्चालन गरेको थियो । तर यस आर्थिक गणना सञ्चालन गर्न क्षमता विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोग रहेको छ । गणनामा सबै आर्थिक क्रियाकलापका अन्तर्राष्ट्रियस्तरको औद्योगिक वर्गीकरणमा उल्लेख भएअनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशिल विभिन्न १८ क्षेत्रका प्रतिष्ठान समावेश छन् । कार्यक्रममा उपमहानिर्देशक हेमराज रेग्मीले नतिजासम्बन्धी प्रस्तुति गर्नुभएको थियो । सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेका उपमहानिर्देशक रेग्मीले जानकारी दिनुभयो । त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा नौ लाख ८८ हजार ३४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा एक हजार ९७७ जनशक्ति संलग्न छन् ।

प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गणनाको नतिजा सार्वजनिक गर्नुभएको थियो । विभागले समय समयमा विभिन्न गणना, सर्वेक्षण तथा अन्य श्रोतबाट तथ्याङ्क सङ्कलन गरी नतिजा प्र्र्रयोगकर्ता समक्ष पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja