‘लोकतन्त्रका लागि देशभित्र र बाहिरका नेपाली एकजुट हुनपर्छ’: उपसभापति निधि



पोखरा

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित नेपाली जनसम्पर्क समितिको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई शनीबार सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण लोकतन्त्रवादीको प्रमुख दायित्व हुने बताउनुभएको कार्यक्रममा सहभागी उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । सङ्घीयतामाथि विश्वास नगर्नेबाट लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकाले सम्पूर्ण लोकतन्त्रवादी एक हुनुपर्नेमा उपसभापति निधिको जोड थियो ।

कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीमा गुटउपगुटका कुरा छाडेर एकजुट हुन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एकजुट भएर अघि बढे काङ्ग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताउनुभएको थियो । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, संयुक्तराज्य अमेरिकाका संस्थापक अध्यक्ष विष्णु सुवेदी, पोर्चुगलका अध्यक्ष गङ्गाधर गौतम, भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

यही असार ६ गतेदेखि तीन दिनसम्म चल्ने कार्यक्रममा विश्वका ३३ देशका करीब २०० जनाको सहभागिता रहेको काङ्ग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका नेता डा मीनेन्द्र रिजाल, डा रामशरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराई लगायतले प्रशिक्षण दिनुहुने कार्यक्रम छ । त्यस्तै गोविन्द भट्टराई, रामजी दाहाल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja