प्रदूषणको प्रमुख कारण ‘प्लास्टिक’
पोखरा
ड्राइ फुड, दूध, दही, घीउदेखि मरमसाला, दाल, चामल, तेल, नुन सबै प्लास्टिककै झोलामा प्याक भएर आउँछन् ।
कस्मेटिकका सामग्री हुन वा तयारी कपडा, पेयपदार्थ होस् वा औषधिको प्रकार सबै प्लास्टिकभित्रै हुन्छन् । केटाकेटीले खाने फास्ट फुड हुन् वा खेलाउने खेलौना ती पनि प्लास्टिककै हुन्छन् । अब त घरमा प्रयोग हुने अधिकांश सामान प्लास्टिककै हुनथाले । अहिले सबैतिर प्लास्टिकको बिगबिगी छ । जताततै प्लास्टिक छ । प्लास्टिकको सामग्री यति धेरै भयो कि बजारका सडक छेउ हिँड्दा हरेक पाइलामा प्लास्टिकका साना–ठूला टुक्रा देख्न पाइन्छ । सुर्ती, गुट्का, पुकार, चकलेट, बिस्कुटका सानासाना टुक्राले बजार ढाकेको छ । उसो त दाङमा प्लास्टिक उत्पादनको उद्योग छैन । प्लास्टिक व्यवसायी दाङका अध्यक्ष ओमप्रकाश पोखरेलका अनुसार अहिले जिल्लामा विराटनगर, वीरगञ्ज, काठमाडौँ, भैरहवा र चितवनबाट प्लास्टिकका सामग्री भित्रिने गरेका छन् । प्लास्टिकका झोलासँगै अहिले करीब १५० प्रकारका प्लास्टिकका सामग्री जिल्लामा आउने गरेका छन् । जुन खेलौनादेखि दैनिक जीवनमा उपयोग हुने भाँडाकुँडा छन् । यस्तै अहिले घोराही बजारमा मात्रै डेढ दर्जनभन्दा बढी प्लास्टिकको सामग्री मात्रै बिक्री गर्ने पसलहरु छन् । प्लास्टिक व्यवसायीहरुका अनुसार एउटा पसलले सरदर महीनामा ४० देखि ५० किलोसम्म प्लास्टिकका झोलाहरु बिक्री गरेको पाइन्छ । प्लास्टिकबाट भाँडावर्तन के कति बिक्री हुन्छ, त्यसको हिसाब नै छैन । प्लास्टिकबाट बनेको भाँडावर्तनहरु जिल्लामा उत्तिकै भित्रिएको छ भने खपत पनि बढेको छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसाल प्लास्टिकका झोलालाई विकल्प दिएर रोक्ने सके पनि तयारी सामग्री प्याकिङ भएको आएका प्लास्टिक भने रोक्नै सकिने अवस्थामा नरहेको बताउनुहुन्छ । विशेषगरी बजारलाई हराभरा र सुन्दर बनाउनका लागि प्लास्टिक नै बाधक रहेको उहाँको बुझाइ छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुसाल अब कागज वा गल्ने खालका सामग्रीलाई व्यवसायीहरुले उत्पादन र बिक्रीवितरणमा जोड दिनुपर्ने बताउनुहुन्छ । “जिल्लामा प्लास्टिकका झोला र भाँडाकँुडा यति धेरै भए कि नियन्त्रण गर्नै गाह्रो भयो”, उहाँले भन्नुभयो, “तर हामीले पनि विकल्पका रुपमा अन्य सामग्री उत्पादन र उत्पादन गर्नेलाई सबै प्रकारको सहयोग गर्ने सोचमा छौँ ।” परिवर्तन विस्तार गर्न सकिने भन्दै उहाँले अब कुहिने खालको सामग्रीलाई बढी उपयोगमा ल्याउनुपर्छ । प्लास्टिकका झोलाको ठाउँमा कपडाको झोला, फाइबरको झोला प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो । यस्तै उहाँले उपमहानगपालिकासँग मिलेर व्यवसायीहरुबाटै प्लास्टिकका प्रयोग भइसकेका सामग्री किनेर पुनः प्रयोगको योजनासमेत अगाडि सारेको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी प्लास्टिकको कारणले फोहर व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ । त्यसैगरी जलवायु अनुकूलनमा पनि यसले धेरै बाधा पु¥याएको उहाँको ठम्याइ छ । तर उपमहानगरले प्लास्टिकलाई नियन्त्रण गर्दै जाने उहाँ बताउनुहुन्छ । “एकै पटक घोषणा गरेर बन्द गर्ने अवस्था छैन । निरन्तरण नियन्त्रण गर्दै जाने हो ।” उहाँले भन्नुभयोे, “आगामी नीति तथा कार्यक्रममा प्लास्टिक नियन्त्रणको कार्यक्रम नै ल्याउन लागेका छौँ र त्यसलाई लागू पनि गर्छौं ।” उहाँले अहिले व्यवसायी र जनता सबै प्लास्टिकका सामग्री उपयोगमा बानी परिसकेको हुँदा बिस्तारै वैकल्पिक सामग्री उत्पादनमा जोड दिएर प्लास्टिक विस्थापित अभियानमा उपमहानगरपालिका लाग्ने बताउनुभयो । अहिले घोराहीमा एक जना उद्योगीले कागजको झोला उत्पादनको कार्य थालिएको छ । तर प्लास्टिकको झोला यति भरपर्दो भयो कि कागजको झोला बिक्ने अवस्था नै छैन । पछिल्लो समय स्थानीय तहहरुले सरसफाइ व्यवस्थापनमा चासो दिएका छन् ।
घोराही र तुलसीपुर उपमहानगरले सरसफाइमा विशेष चासो दिएको जस्तो देखिन्छ । तर बजारमा यत्रतत्र छरिएका प्लास्टिक नियन्त्रण गर्ने गाह्रो भएको छ । हरेक सेकेण्ड व्यक्तिले बजारका सडकमा प्लास्टिक मनपरी फ्याँकेको देख्न पाइन्छ । बजारका चोकचोकमा राखिएका डस्टबिनमा मात्रै फोहर फाल्नुपर्छ भन्ने हेक्कासमेत राख्दैनन् । अथवा फोहरलाई एकीकृत गरेर उपमहानगरको गाडी आए पनि त्यसैलाई दिनुपर्छ भन्नेमा वास्ता गर्दैनन् ।