कालीगण्डकी नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व मेटिने चिन्ता
पोखरा
कालीगण्डकी नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ ।
कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लाग्नुभएका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताउनुभयो । हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा चालिसेले बताउनुभयो । कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिंचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ । कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करीब एक करोड बेलपत्र चढाइएको थियो ।
नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए । गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताउनुभयो । नगरप्रमुख थापाले नदी डाइभर्सनले यसक्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिनुभयो ।
रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । कालीनदीको केही भाग पानी मात्रै तराईमा सिंचाइका लागि लगिने हुदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गर्नुभयो । उहाँले कालीनदी वारिपारिका जमीन सिंचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पु¥याउने योजना ल्याउनुपर्ने बताउनुभयो । सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन अहिलेदेखि नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गर्नुभयो । कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ ।