सेवाको राजनीति नेपालमा पेशा भएर भित्रियो



पोखरा

 

कास्की जिल्लाका प्राध्यापकहरुले राजनीति सेवा भएको तर नेपालमा राजनीतिक दलहरुले राजनीतिलाई पेशा बनाएको भएर बिकृति भित्रीएको बताएका छन् । राजनीतिक पार्टिले जनतामाझ विकासयोजना ल्याउनुभन्दा अझ विपक्षी पार्टीको टिप्पणी गर्ने व्यवहार दुर्भाग्यपूर्ण रहेको प्राध्यापकहरुले बताएका छन् ।

राजनीतिक शास्त्र पृथ्वीनारायण क्याम्पस र सयपत्री सोसाइटिको आयोजनामा गरिएको ‘नेपाली लोकतन्त्रका विविध पक्षहरु विषयक अन्तरक्रिया कार्यक्रम’मा समाजशास्त्री प्रा. विश्वकल्याण पराजुली, प्रा.डा. चन्द्रा भद्रा, सहप्राध्यापक ठान बहादुर क्षेत्री र प्रा.डा. कुसुमाकर न्यौपानेले आआफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रमको उद्घोष अधिवक्ता गिरीधारी सुवेदिले गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. चन्द्रा भद्राले वि.सं. २०७४ को संघीय निर्वाचनपछि नेपाल एक केन्द्रिय राज्य प्रणालीबाट संघीय प्रणालीमा रुपान्तरण भएको र अहिले देशव्यापी रुपमा महिलाहरुको प्रतिनिधित्व सरदर ३६ प्रतिशत भएको बताउनुभयो । उहाँले लोकतन्त्रमा लैङ्गिक उत्तरदायि बजेटको अनिवार्यता हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले लैङ्गिक मूलप्रवाहीकरण गर्न यथास्थितिवादबबाट माथि उठी नयाँ ढंगबाट गरिने सोँच र व्यवहारको आवश्यकता बताउँदै यथास्थितिमा हुने महिला सहभागितामा “लैङ्गिक मूलप्रवाहीकरण” नभई “लैङ्गिकताको पुरुषीकरण” हुन जाने डर रहने बताउनुभयो , जसमा महिलाहरुको प्रतिनिधित्व केवल सांकेतिक मात्र हुने, कामकारवाई तथा सोँच भने उही पुरातनवादी रहने र पुरुषहरुले गरेका निर्णयहरुमा  ्महिलाहरु औँठाछापको रुपमा प्रयोग हुने बताउनुभयो । उहाँले समान प्रतिनिधित्व र समान सहभागितामार्फत् विकासलाई लैङ्कि उत्तरदायि बनाउनु नै समावेशी समाजवादतिर उन्मुख संघिय लोकतान्त्रिक नेपालको अनिवार्यता भएको जनाउनुभयो ।

यस्तै कार्यक्रममा समाजशास्त्री प्रा. विश्वकल्याण पराजुलीले विश्वमा विभिन्न प्रकारका शासन प्रणाली अस्तित्वमा रहे पनि अभ्यास र अनुभवको कसीमा कुनै प्रणालीले पनि पूर्णता हासिल नगरेको बताउनुभयो । उहाँले विश्वको इतिहासका विभिन्न कालखण्डका विभिन्न भूगोलको शासन प्रणालीको बारेमा बताउँदै अहिले समाजवादी लोकतन्त्र, समावेशी लोकतन्त्र र सहभागितामूलक लोकतन्त्र राजनीतिक विकासक्रमको उत्तम खुड्किलोका रुपमा स्थापना हुँदै गएको बताउनुभयो । उहाँले भ्रष्टाचार, संस्थागत हुन नसकेको लोकतन्त्र, अलोकतान्त्रिक तथा कमजोर नेतृत्व, अपारदर्शी तथा गैरजिम्मेवार सरकार, कमजोर नागरिक समाज, सुशासनको अभाव, खर्चिलो तथा भड्किलो निर्वाचन प्रणाली, बेरोजगार र कष्टपूर्ण जीविका इत्यादि लोकतन्त्रका चुनौति भएको बताउनुभयो ।

प्रा.डा. कुसुमाकर न्यौपानेले लोक नै लोकसंस्कृति र लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो । उहाँले लोकतन्त्रको क्षेत्र विशाल भएको बताउँदै एकसरो सर्वेक्षण गर्दा नेपाली लोकसंस्कृतिभित्रका लोकगीत, लोकगाथा, लोकनाटक, उखान, लोकविश्वास, भाषामा लोकतन्त्रका स्वर ध्वनित भएको भेटिएको जानकारी दिँदै लोकतन्त्रको विकासको निम्ति लोकसंस्कृतिको अध्ययन हुन आवश्यक भएको  बताउनुभयो ।

यस्तै कार्यक्रममा सहप्राध्यापक ठान बहादुर क्षेत्रीले निरंकुश व्यवस्थामा भन्दा प्रजातान्त्रिक व्यवस्थामा जनताहरुले सुखको अनुभूति गर्ने बताउनुभयो । उहाँले नेपाल अहिले गणतन्त्र घोषणा भइसकेको जनाउँदै गणतन्त्र संस्थागत गर्ने क्रममा हाम्रा नेताहरुले नेपाल सुशासन, विकास, समानता र सामाजिक न्यायको नयाँ युगमा प्रवेश गरेको जनाए पनि त्यो अहिले क्रमशः हराउँदै गएको अनुभूति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja