सरकार तानाशाही बन्न खोजेको देउवाको आरोप



पोखरा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन दिँदैनौँ भन्नुभयो । उहाँले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाउनुभयो । उहाँले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेर भए पनि घातप्रतिघातको अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र फुट नहुने हो भने कुनै शक्तिले पनि काङ्ग्रेसलाई हराउन नसक्ने बताउनुभयो । केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी सभापति देउवाको सरकारले प्रदेश नं ५ को राजधानी बुटवल तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी सार्ने काम भए त्यसका लागि बलिदान दिनसमेत तयार रहेको बताउनुभयो । केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको कम्युनिष्ट सरकारले मुलुकमा स्थापित सङ्घीयतालाई असफल बनाउने काम गरेको आरोप लगाउनुभयो । प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सरकार जनभावना विपरीत अगाडि बढेको दाबी गर्नुभयो ।

नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपक गिरी, देवेन्द्रराज कँडेल, सङ्घीय संसद् सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सङ्घीयसभा सदस्य प्रमोद यादव, प्रदेश नं ५, सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, महासमिति सदस्य तथा महिला सङ्घ रुपन्देहीकी सभापति गङ्गा शाही, रुपन्देहीका पार्टी उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, सैनामैना नगर सभापति रामप्रसाद अधिकारीलगायतले पार्टीभित्र गुटउपगुटको अन्त्य गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja