पर्यटकको रोजाइमा बोराका घुमाउने घर



पोखरा

बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् । जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा ९अर्थ व्याग० मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी प्राचीन शैलीका घुमाउने घर निर्माण गरिएको इन्द्रेणी घरबास कार्यक्रम सञ्चालक गोमा ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सानो फलामे रड, काँडेतारबाट निर्मित गोलो आकारको गारो निर्माण गरी बाहिरबाट जाली राखेर परम्परागत रातो माटोले लिप्नुका साथै बाँसको खपेटामाथि खरको छानोले घर बनाइएको हो । गर्मीमा न्यानो र चिसो मौसममा तातो हुने (तापअनुकूलित) गोलो आकारको घुमाउने घरमा दुई बेडसहित आवश्यक सम्पूर्ण सुविधा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक सेवासुविधासहित प्राचीन शैलीका घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । सामान्य घरायसी कच्चा पदार्थको प्रयोग गरी भूकम्परहित नवीनतम् प्रविधिबाट घर निर्माणमा अमेरिकन इञ्जिनीयर लुकासले सहयोग गरेका हुन् ।

एक रातको बास, बिहान–बेलुकाको सादा खाना एवं बिहानको नास्ताको प्याकेजमा स्वदेशीका लागि प्रतिव्यक्ति रु एक हजार र विदेशीको हकमा भने घरसहित रु तीन हजार ५०० लिने गरेको बताउँदै उहाँले माछामासु र पेय पदार्थका लागि छुट्टै शुल्क लाग्ने बताउनुभयो । सञ्चालन भएको एक वर्षको अवधिमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न मुलुकका पर्यटक घरबासमा आउने गरेको बताउँदै उहाँले हालसम्म दुई लाखभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो । घरबासमा आउने आन्तरिक पर्यटक छोटो समय बास बस्ने गरेको भए पनि विदेशी भने एक महीनासम्म बस्ने गरेको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सौदर्यतासहित शान्त र रमणीय वातावरणका कारण पर्यटकको बसाइँ लम्बिने गरेको बताउनुभयो ।

बोराबाट निर्मित चार घरमा आठ र अर्को भान्छासहितको ट्रष्ट भवनमा १६ जना क्षमताको घरबासमा कहिलेकाहीँ त २० जनासम्म पनि बास बसेको बताउँदै उहाँले घरबासको सम्पूर्ण भौतिक निर्माणमा रु ५० लाखभन्दा बढी लगानी भएको बताउनुभयो । घरबास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ उहाँले सोही स्थानमा खरीद गरिएको १५ रोपनी बाँझो जग्गामा अहिले इन्द्रेणी अर्गानिक तरकारी फार्म सञ्चालन गर्नुभएको छ । आधुनिक हरितगृहभित्र काँक्रो, धनिया, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसागलगायतका तरकारी र सामान्य टनेलमा गोलभेँडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् ।

उत्पादित तरकारी लेकसाइडका विभिन्न होटलमा बिक्री गर्दै आएको गोमाले जानकारी दिनुभयो । खेतमा उत्पादित धानको चामल, बारीको तरकारी, खोरका खसीबोका र लोकल कुखुराको मासु स्वाद चखाउँदै आएको बताउँदै उहाँले १० भैँसी पालेर पाहुनालाई शुद्ध दूध खुवाउने व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभयो । भाडामा लिएको १० रोपानी जग्गामा रु १२ लाखभन्दा बढी लगानी गरेर आधुनिक गोठ निर्माण गरेको बताउँदै उहाँले भन्नुभयो, “बैंकबाट ऋण स्वीकृत हुन समय लागेका कारण भैँसी खरीदमा ढिलाइ भएको छ, इन्द्रेणी घरबास र अर्गानिक तरकारी फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।” कास्कीकोटको काउलेदेखि टारीसम्म फैलिएको लगभग पाँच किलोमिटर लम्बाइको अलौकिक एउटै चिप्लेढुङ्गोसहित मनोरम पिप्ले झरना घरबासमा आउने पर्यटकका लागि थप आकर्षण रहेका छन् । फेवातालको किनारै किनारबाट खपौदी, भकुण्डे, पामेबजार हुँदै लगभग आठ किलोमिटरको दूरीमा रहेको सो घरबास कार्यक्रमसम्म पुग्नका लागि यातायातको समेत व्यवस्था छ ।

 

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja