सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव



पोखरा

पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् । सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो सङ्ख्या बर्सेनि वृद्धि भइराखेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थ (चुरोट, पान, गुट्खा, बिँडी, हुक्का) सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ । यसले क्रोनिक अब्सक्टिभ पल्मनरी डिजिज, आज्मा, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ । धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । धूमपान गर्नेले उडाएका धुवाँको असरले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ । सरकारले सार्वजानिकस्थलमा धूमपान गर्न निषेध गरेको छ । तर यो क्रम रोकिएको छैन ।

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करका दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हुन्छ ।” उपप्रधानमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिनेछ भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु, मिर्गाैला, क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताउनुभयो । उहाँले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक छ भन्नुभयो । यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ’ भन्ने रहेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो प्रदेशमा सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका बारेमा अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले सांसद विकास कोषको रकम सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कार्यविधि बनाउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा स्वास्थ्यमन्त्री ब्लुमवर्ग जनस्वास्थ्य पुरस्कार मन्त्री पुन, सांसद अधिकारी, सहसचिव रामकृष्ण सुवेदी तथा स्वास्थ्य पत्रकार मञ्चलाई वितरण गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja