कपिलवस्तुस्थित जगदीशपुर ताल गौचरनमा परिणत



पोखरा

विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल क्षेत्र अहिले गौचरनमा परिणत भएको छ ।

पानीको मुहान बन्द गरिएपछि सीमसार क्षेत्र पूर्णरुपमा सुकेको हो । बाणगङ्गा सिँचाइ प्रणालीअन्तर्गत बाणगङ्गा नदीमा निर्मित बाँधको पानी तालसम्म आउने मुख्य नहरको मर्मतसम्भार गरिँदा ताल क्षेत्रमा पानी नआएका कारण सीमसार क्षेत्र पूर्णरुपमा सुकेको हो । तीन मिटर गहिराइको ताल क्षेत्र सुकेर अहिले सर्वसाधारणहरुका लागि खेलमैदान, घाँसे भूमि तथा गाईवस्तुको चरनस्थल भएको छ । यसरी ताल पूर्णरुपमा सुक्दा ताल क्षेत्रमा बसोबास गर्ने पक्षी, जलचर तथा अन्य विभिन्न प्रजातिका जीवजन्तुसमेत लोप भएका छन् ।

२१५ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर ताल क्षेत्रमा १५७ हेक्टर क्षेत्रफलमा पानी सङ्ग्रह हुन्छ । बाँधबाट तालसम्म जोडिने मुख्य नहरको मर्मतसम्भारको कामका लागि गत वर्ष नै ठेक्का भएको र सो ठेक्का सम्झौताअनुसार मुख्य नहर मर्मतसम्भार गर्दा केही दिन ताल क्षेत्रमा जाने पानी रोकिएको बाणगङ्गा सिँचाइ डिभिजनका प्रमुख रामकृष्ण घोरासैनीले भन्नुभयो, “काम गरौँ तालमा पानी जान समस्या हुन्छ, काम रोकौँ कार्य प्रगति देखिँदैन ।” एक–दुई दिनभित्रै ताल क्षेत्रमा पानी छोड्छौँ । जगदीशपुर ताल सन् २००३ सालमा रामसार क्षेत्रमा सूचीकृत भएको थियो । बाणगङ्गा नदीमा बाँध बाँधेर नदीको पानीलाई सिँचाइको प्रयोजनका लागि जम्मा गर्न जगदीशपुर ताल निर्माण गरिएको थियो । नेपालकै कृत्रिम तालहरुमध्ये यो मानव निर्मित ठुलो ताल हो । सिँचाइ प्रणालीको हेडबक्समै मर्मतसम्भारको काम गर्नुपर्ने भएका कारण ताल क्षेत्रमा आउने पानी रोक्नु परेको जसका कारण ताल क्षेत्र सुख्खा भएको जिल्ला वन अधिकृत ईश्वरी पौडेलले बताउनुभयो । बाणगङ्गा सिँचाइ डिभिजनसँग समन्वय गरी छिट्टै नै तालमा पानी भर्ने तयारी गरिएको जिल्ला वन अधिकृत ईश्वरी पौडेलले बताउनुभयो । १६८ प्रजातिका चरा, १० प्रजातिका उभयचर, ३२ प्रजातिका स्तनधारी, ४२ प्रजातिका घस्रने जीव, ४३ प्रजातिका माछाको आश्रय स्थल हो जगदीशपुर ताल । तर ताल सुख्खा हुँदा यी जलचरहरुको अस्तित्व नै सङ्कटमा पर्ने जीवशास्त्री उषा पौडेलले बताउनुभयो । जगदीशपुर ताललाई प्रदेश नं। ५ सरकारले प्रमुख गन्तव्यको सूचीमा समेत राखेर विकास गर्ने जनाएको छ । संघीय सरकारले पनि सार्वजनिक गरेको एक सय एक पर्यटकीय गन्तव्यको सूचीमा यो ताल परेको छ । यहाँ विश्वमै लोप हुने अवस्थामा पुगेका सानो खैरो गिद्ध, सुन गिद्ध र डंगर गिद्ध पनि सजिलै देख्न सकिने जीवशास्त्री उषा पौडेलले बताउनुभयो ।

तालमा अवलोकन गर्नेको मुख्य आकर्षण भनेकै चरा हुन् । चरा हेर्नका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भएपनि पछिल्लो समयमा ताल सुकेपछि यहाँ पर्यटक आउने सङ्ख्यामा उल्लेखनीय कमि आएको छ । तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायत देशबाट चरा आउने गरेको चराविद्को भनाइ छ । सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर उत्तरमा पर्ने यो तालमा आउँदा अधिकांश भाग कच्ची सडक भएकाले सास्ती व्यहोर्नुपर्छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja