बढ्दो गर्मीले तराईको जनजीवन कष्टकर



पोखरा

लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् । चर्को घामको रापले बन्द व्यापार, बजार चहलपहल र कार्यालयमा सेवा लिन पुग्ने निकै घटेका छन् । दैनिक दुई/तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकामा अहिले यो सङ्ख्या १०/१५ मा झरेको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विदुर भट्टराई बताउँछन्।

प्रचण्ड गर्मी बढेसँगै महोत्तरीको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा खानेपानीका मुहान धमाधम सुक्दै जाँदा खानेपानीको सङ्कट समेत बढेको छ । जेठ लागेयता मात्रै आफ्नो बस्तीका १५ इनार स्याप्पै सुकिसकेका बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृत महतोले बताए । बर्दिवासमा आज बिहान सूर्योदयकै बेला तापक्रम ४० डिग्री सेल्सियस देखाइएको छ । बर्दिवासको भोला वसन्त चोकस्थित प्रहरी बिटमा राखिएको विद्युतीय मौसमी पात्रोले हिजो मङ्गलबार दिउँसो ३ बजे यहाँको तापक्रम ४२ डिग्री सेल्सियस देखाएको थियो । जेठ लागेयता पानी नपरेर लगातार घामको राप बढ्दै गएपछि स–साना रुख बिरुवा पहेँलिन थालेका छन् । लहरे तरकारीका विरुवा सुकेर खङ्रङ्ग हुँदै गएपछि किसान गुजाराको चिन्ताले पिरोलिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja