७८ लाख घुस लिएको आरोप लागेका अख्तियारका पूर्वआयुक्त अदालतमा
पोखरा
सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। अहिले उनको बयान विशेष अदालतका चलिरहेको छ।
७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो।
आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।
न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।