राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित



पोखरा

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु दुई लाख तथा मुख्य प्रक्षिकलाई रु तीन लाखसहित सम्मान गरे। नेपालले गत माघमा युएईविरुद्धको तीन एक दिवसीय र टी–२० शृङ्खला जितेको थियो । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपालको पहिलो एकदिवसीय र टी–२० शृङ्खलाको उपाधि रहेको थियो । पुरष्कृत हुने नेपाली खेलाडीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनास बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् । शृङ्खला जितेपछि सरकारले गत माघ २५ गते क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले आज नगद प्रदान गरेको हो । सो अवसरमा मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको बताउँदै खेलाडीलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर रहेको बताए ।

यसैगरी विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मानस्वरूप सरकारले रु पाँच लाख प्रदान गरेको छ । गत डिसेम्बरमा थाइल्याण्डको चेनमाईमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् । त्यसैगरी झन्डै तीन वर्षअघि १२औँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप रु तीन लाख प्रदान गरिएको छ । सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीलाई जनही रु दुई लाख उपलब्ध गराएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja