सुडानी प्रदर्शनकारीलाई ‘अबरोध’ हटाउन सेनाको आग्रह



पोखरा

 

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखेका अबरोधहरु हटाउन सोमबार प्रदर्शनकारी समक्ष आग्रह गरेको छ । सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन् ।

नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषदसँग भएको वार्ता बिफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो । प्रदर्शनमा सहभागी नेताहरुले सेनालाई शासनसत्ता त्यागी जनताको हातमा शासनसत्ता सुम्पन निरन्तर दबाब दिइरहेका छन् । गत अप्रिल ६ देखि नै सैनिक मुख्यालय बाहिर प्रदर्शनकारीको ठूलो भिड निरन्तर जम्मा भइरहेको छ । उनीहरुले सडकका ठाउँठाउँमा अबरोधहरु पनि राखेका छन् ।

सैनिक परिषदको वक्तव्यमा प्रदर्शनकारीको अबरोधका कारण रेलसेवा र यातायातका अरु साधन सहज रुपमा नचल्दा नगरमा अत्यावश्यकीय सामानको ढुवानीमा असर परेको उल्लेख छ । आइतबार सुडानका नयाँ सैनिक शासक जनरल अब्देल फताह अल–बुरहानले सडकमा प्रदर्शनकारीले जताततै चेकप्वाइन्ट बनाएर प्रदर्शनकारीको समेत खानतलासी गरेकामा असन्तुष्टी जनाएका थिए। “यसले निरन्तरता पाउनु हुँदैन किनभने सुरक्षा राज्यको प्रमुख जिम्मेवारी पनि हो,” बुरहानले भने । तर प्रदर्शनकारीले चेकप्वाइन्ट कुनै पनि हालतमा नहटाउने घोषणा गरेका छन् । “हामी यी अबरोधहरु अहिल्यै हटाउने अवस्थामा छैनौं,” एक जना २३ वर्षीय प्रदर्शनकारी कथर हसाबल्लाहले बताए । “कसैले पनि, सैनिक परिषदले पनि हामीलाई यो ठाउँबाट हटाउन सक्दैन ।” महिनौंको प्रदर्शनपछि सुडानी सेनाले पूर्व राष्ट्रपति ओमार अल–बासिरलाई गत अप्रिल ११ मा सत्ताच्यूत गरेको थियो । तर बसिरको सैनिक सत्ता समाप्त भएकामा खुशी भएका जनता नयाँ सैनिक सत्ता शुरु भएकामा आक्रोशित छन् ।

हाल सुडानमा जनरल बुरहानको नेतृत्वमा १० सदस्यीय सैनिक परिषदले शासन सञ्चालन गरिरहेको छ । प्रदर्शनकारीले उक्त परिषद भङ्ग हुनुपर्ने र नागरिकको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरिरहेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja