श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो



पोखरा

श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । दश दिन अगाबै चेतावनी दिइएको थियो श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए । एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए । “एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको पूर्व सूचना पाएर पनि सुरक्षा निकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षा निकायको आलोचना गरेका छन्। तर उनले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja