प्रधानमन्त्रीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ



पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज बिदाइ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरे ।

टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन्। पथप्रदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङ्पासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल पनि साथमा हुनेछन्। सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलो पटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताए। प्रधानमन्त्री ओलीले आरोहीलाई सम्पूर्ण नेपालीका तर्फबाट शुभकामना दिँदै पथप्रदर्शकको निर्देशनानुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरे। प्रधानमन्त्रीले आरोहण चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिए। नेपालीबाट पहिलो पटक मापन नेपालले पहिलो पटक सगरमाथाको मापन गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो । यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथा पहिलो पटक नेपालीले नै मापन गर्ने अवसर गौरवको विषय भएको बताउँदै यो ऐतिहासिक कार्यलाई सफल बनाउनुपर्नेमा जोड दिइन्।

मापनका क्रममा अत्याधुनिक प्रविधि ‘स्नो राडार इक्विपमेन्ट’ प्रयोग गरी स्वदेशी स्रोत र साधनको समेत उपयोग गरिने छ । विभागका प्रमुख नापी अधिकृतसमेत रहेका गौतमले केही वर्ष अगाडि निजामती सेवाका केही कर्मचारीले सगरमाथाको आरोहण गर्ने क्रममा सहभागी भई सफलता प्राप्त गरेका थिए। गौतम र कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने तथा भण्डारी र धिताल आधार शिशिरको आसपासमा रही आवश्यक समन्वय गर्ने तालिका तय भएको छ । टोलीले करीब एक महीनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । नेपाल–भारतको सीमा भएको सिरहास्थित मदार भन्ने स्थानबाट करीब एक वर्ष अगाडि मापनका लागि प्रारम्भिक सर्वेक्षण तथा अन्य आवश्यक काम गरिएको थियो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सगरमाथाको उचाइ मापनका लागि करीब रु २२ करोड विनियोजन गरिएको जानकारी दिँदै प्रारम्भिक चरणका सबै गृहकार्य पूरा गरिएको बताए । चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ करीब आठ हजार ८४४ मिटर तथा अमेरिकाको नेशनल जियोग्राफीले करीब दुई दशक अगाडि गरेको अध्ययनले आठ हजार ८५० मिटर कायम गरेको विभागले जनाएको छ । सोही वर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ आठ हजार ८४७ मिटर कायम गरेको थियो । यस पटकको मापनमा कायम गरिने उचाइ नै अब आधिकारिक हुने हुँदा यसलाई महत्वका साथ हेरिएको छ ।

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja