व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन



पोखरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताएका छन्। दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको अन्तिम व्यापार वार्ता र सम्झौतामा हस्ताक्षर हुने मितिमा विश्व समुदाय प्रतिक्षारत रहेको छ । तर चिनियाँ र अमेरिकी व्यापार प्रतिनिधिहरुले दुई नेताको भेटवार्ताको मिति घोषणा गर्न सकेका छैनन् । व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको सङ्केत पाएसँगै विश्वको शेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको छ । “हामी आगामी चार हप्तामा केही हुने विश्वासमा छौं । त्यसपछिका दुई हप्तामा अवश्य केही हुनेछ,” चिनियाँ व्यापार प्रतिनिधि लिऊ हेसँगको भेटपछि वासिङ्टनमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बताए। “वार्ता निकै राम्रोसँग अगाडि बढेको छ ।” दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा शुक्रबार पनि वार्ता हुँदैछ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले केही महत्वपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन्। अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन्। अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ ।

चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ । आर्थिक तथा व्यापार सम्झौताको मस्यौदामा महत्वपूर्ण प्रगति – चीन यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–अमेरिका आर्थिक तथा व्यापार सम्झौताको पाठमा महत्वपूर्ण प्रगति भएकामा खुशी व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपतिलाई आफ्ना व्यापार प्रतिनिधि उपप्रधानमन्त्री लिऊ हे मार्फत पठाएको सन्देशमा राष्ट्रपति चिनफिङले दुबै देशबीच जतिसक्दो चाँडो नयाँ सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति चिनफिङले दुबै मुलुकबीचको व्यापार आपसी सम्मान, समानता र परस्पर लाभका आधारमा हुनुपर्ने चीनको धारणा रहेको पनि बताएका छन्। वर्तमान अवस्थामा चीच–अमेरिकाबीचको सम्बन्ध स्वस्थ एवं दिगो विकासका आधारमा हुनुपर्ने दुबै देशका जनताको चाहना रहेको बताउँदै राष्ट्रपति सी चिनफिङले दुबै देशको आर्थिक स्थायित्वलाई विश्व समुदायले पनि सकारात्मक रुपमा हेरिरहेको दाबी गरे। चिनियाँ राष्ट्रपतिको सन्देशमा उनले अमेरिकी समकक्षीसँग विभिन्न रुपमा निकट सम्पर्कमा रहन आफू तयार रहेको स्पष्ट गर्दै दुबै नेताको निर्देशनमा सकारात्मक प्रगतितर्फ दुबै मुलुक र विश्व समुदायलाई अघि डो¥याउन सकिने बताएका छन्। राष्ट्रपति ट्रम्पसँगको भेटघाटमा चिनियाँ उपप्रधानमन्त्री एवं चिनियाँ व्यापार वार्ताकार लिऊ हेले चीन र अमेरिकाबीच हुन लागेको नयाँ आर्थिक तथा व्यापार सम्झौताको मस्यौदामा सहमति जुट्न लागेको जानकारी गराएका थिए। उनले व्यापार वार्तालाई आपसी विश्वास र सम्मानका आधारमा जतिसक्दो चाँडो टुङ्ग्याउन चीनका तर्फबाट प्रयास जारी रहेको बताए।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja