घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण



पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्। राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छन्। । उनले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताएका छन्।

उनले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गरेका छन्।

एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उनले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गरेका छन्। अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उनले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गरेका छन्।

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja