मध्यपहाडी राजमार्गको कास्की–पर्वत–बाग्लुङ खण्डको काममा तीव्रता



पोखरा

राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल राजमार्गको कास्की खण्डमा सडक फराकिलो बनाएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ । पोखरा–बाग्लुङ राजमार्गको पोखरा महानगरपालिका–२५ याम्दीदेखि कास्की र पर्वतको सीमा नयाँ पुलसम्मको ३७ किमी दूरीमा हालसम्म करीब ४० प्रतिशत काम सम्पन्न भएको योजनाले जनाएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना पर्वतले तीन वर्षभित्रमा निर्माण गरिसक्ने गरी सो खण्डलाई तीन भागमा विभाजन गरी २०७४ असारमा रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका क्रममा अधिकांश स्थानमा बिजुली र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्ने हुँदा ढिलाइ भए पनि हालसम्मको प्रगति सन्तोषजनक रहेको योजना कार्यालय पर्वतका योजना प्रमुख आशिष थापामगरले बताए। उनले भने, “याम्दी/सुइखेत क्षेत्रमा केही समस्या छन् । बिजुलीका पोल, खानेपानी पाइपका समस्या तत्काल समाधान गर्न सकिए तोकिएको समयमै काम सकिन्छ । समग्रमा कास्की खण्डको कार्यप्रगति सन्तोषजनक छ ।” तीन भागमा विभाजन गरेर ठेक्का आह्वान गरिएकामा याम्दीदेखि सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका छन् ।

तीस मिटर चौडाइ तथा सडकको बीचमा तीन मिटरको खण्ड तथा दायाँबायाँ दुई/दुई मिटरको नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ । उच्च प्रविधिको अस्पात कङ्क्रिट प्रविधिका माध्यमबाट सो सडक कालोपत्रे गरिने बताइन्छ ।

त्यस्तै घट्टेखोलादेखि नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा ठेक्का सम्झौता गरिएको थियो । यस सडक भने दुई लेन ९सात मिटर० को मात्र हुनेछ । पहाडी धरातल भएका कारणले पनि सो सडक दुई लेनभन्दा बढी फराकिलो बनाउन कठिनाइ रहेको बताइन्छ । हालसम्म बाटो फराकिलो पार्ने, गार्भे्रलिङ गर्ने, नाली निर्माण तथा सो माथि स्ल्याब, कल्भर्डको निर्माण तथा आवश्यक ठाउँमा पर्खालको काम सकिएको इञ्जिनीयर अनन्त बरालले जानकारी दिए।

सो सडक निर्माण कार्यमा हाल दैनिक ४०० मजदूर तथा जेसिभी, एक्साभेटर, क्रसरलगायत १५ वटा उपकरण प्रयोग गरी कामलाई तीव्रता दिइएको उनको भनाइ छ । “काबु बाहिरको परिस्थिति आइपरेमा केही ढिलाइ हुनसक्छ । अन्यथा तोकिएकै समयभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ”, बरालले भने।

याम्दीदेखि फेदीसम्म बिजुली तथा खानेपानीको पोल सार्न सम्बन्धित कार्यालयमा ताकेता गरिरहेको र हटाउनेबित्तिकै काममा सहज हुने विश्वास उनले व्यक्त गरे। लमजुङको सुन्दरबजार हुँदै भोर्लेटार भएर कास्की प्रवेश गर्ने उक्त राजमार्गको कास्की÷लमजुङ सीमादेखि याम्दी खण्डमा भने ठेक्का आह्वान भएको छैन ।

सो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएकाले मन्त्रिपरिषद्ले स्वीकृति दिएलगत्तै ठेक्का आह्वान गरिने योजना प्रमुख थापामगरले बताए। विगतमा विभिन्न खण्डमा टुक्राटुक्रा गरेर ठेक्का आह्वान गरिँदा स्थानीयस्तरमा समस्या आएको र आयोजना निर्देशनालयले सर्भे सकेर त्यसलाई अन्तिम रुप दिने तयारी गरेकाले मन्त्रिपरिषद्ले स्वीकृत गरेलगत्तै बाँकी रहेको देशभरको एकैपटक ठेक्का आह्वान गरिने उनले स्पष्ट पारे ।

कास्की, पर्वत र बाग्लुङ तीन जिल्ला हेर्ने गरी पर्वतमा रहेको सो योजनाअन्तर्गत पर्वत र बाग्लुङ क्षेत्रमा पनि काम तीव्रताका साथ भएको जनाइएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरको चियोभञ्ज्याङबाट शुरु भई सुदूरपूर्वको बैतडी झुलाघाटमा गएर टुङ्गिने सो आयोजनाको दूरी एक हजार ७७६ किमी छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja