धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था



पोखरा

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन्।

उनले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेका जनाइएको छ ।

न्युजिल्याण्डको एक चर्चमा हालैमात्र भएको भीषण आतङ्ककारी हमलापछि अष्ट्रेलियाले विभिन्न धार्मिक सम्प्रदायका क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्यले सो कार्यक्रमको घोषणा गरेको जनाइएको छ ।

सोमबार अष्ट्रेलिया इजरायल चेम्बर अफ कमर्सको कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो विषयमा जानकारी दिएका हुन्।

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले सो सम्बोधनमा भनेका छन्– यहाँका धार्मिक विद्यालयहरु, धार्मिक प्रार्थनास्थलहरु र धर्म सभाहरुमा सुरक्षाका लागि यो अलग्गै बजेटको व्यवस्था गरिएको हो ।

यो रकम यहाँका विभिन्न धार्मिक समूहहरुलाई आफ्नो सुरक्षाको मापदण्ड अपनाउनका लागि प्रदान गरिने जानकारी गराए। यसले आतङ्ककारी क्रियाकलापहरु रोक्न र त्यसका विरुद्धमा एकताबद्ध हुन सहयोग पुग्ने धारणा उनले राखे।

यो रकमबाट ती क्षेत्रमा खतराको सूचक घण्टी (साइरन) को व्यवस्था गर्ने, शिशी क्यामेराहरु राख्ने, सुरक्षाकर्मीहरुको व्यवस्था गर्ने र सुरक्षाका अन्य मापदण्डहरु अपनाउने प्रयोजनका कार्यहरु गरिने बताइएको छ ।

हाम्रो सरकारको पहिलो उद्देश्य भनेको हरेक अष्ट्रेलियाली नागरिकलाई सुरक्षित राख्नु हो भन्दै यसबाट उनीहरुको सुरक्षाका लागि सहयोग पुग्ने धारणा अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले राखे।

गत शुक्रबार मात्र न्युजिल्याण्डमा भएको सो आतंककारी हमलाबाट ५० जना मानिसको ज्यान गएको थियो । उनीहरु चर्चमा प्रार्थनाका लागि जम्मा भएका नागरिक थिए ।

सो आक्रमण भीषण रहेको थियो । त्यस आक्रमणमा थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्च लगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले उक्त आक्रमणलाई अतिवादीहरुको घृणित कार्य भनी प्रतिक्रिया दिएका छन्।
नागरिकले आफ्ना विचारहरुको अभिव्यक्ति मतदानबाट या शान्तिपूर्ण भनाईबाट राख्नसक्ने अवस्था हुदाहुदै यस्ता आतङ्ककारी हमला गरी नागरिकको ज्यान लिनु जघन्य अपराध भएको प्रतिक्रिया उनले दिएका थिए।
न्युजिल्याण्डको आक्रमणमा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja